सेरोफेरो
२७ भदौ । बराहताल गाउँपालिका ८ दमार सुर्खेतका भक्तबहादुर विक र अमृता विकलाई २५ गते राति १२ बजे घरमा सुतिरहेको अवस्थामा अज्ञात समुहले मरणासन्न हुने गरी कुटपीट गर्यो ।
भक्तको माइलो छोरा बलबहादुर विकले दुल्लु नगरपालिका १२ बस्ने अनन्तबहादुर शाहीकी छोरी रम्मा शाहीलाई १४ असारमा बिहे गरेर ल्याएको आरोपमा केटी पक्षले कुटपीट गरेको पीडितको आरोप छ । २४ गते अनन्तको छोरा र छोरीले भक्तको घरमा आइ डुम, चोर लगाएतका अपशब्द प्रयोग गरेर गाली बेइज्जति गरेको र २५ गते राती रम्मालाई खोसेर लगेको घाइते भक्तले बताए ।
बुहारीको दाई पर्ने मोहन शाही र अन्य तीन जनाले कुटपीट गरेको भक्तबहादुरले जिकिर गरे । कुटपीटबाट छोरा बलबहादुर भाग्न सफल भएको, आफू र श्रीमतीलाई बेसरी कुटपीट गरी बाँधेर बेहोस बनाइ बारीमा फालेको भक्तले बताए । ‘मैले त बाँचुला भन्ने सोचेको थिइन । झन् श्रीमतीको आशै थिएन’, भक्तले भने ।
घरमा रहेको २६ हजार ३ सय ७५ रुपैया तथा अन्य धन सम्पत्ति पनि लुटेर लगेको उनीहरुको आरोप छ । घरमा रहेको अनाज पनि बाहिर ल्याएर पोखिएको थियो ।
घटनापश्चात् आफन्त तथा स्थानीयले २६ गते एम्बुलेन्सबाट वीरेन्द्रनगर कालागाउँस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएका थिए । औषधि उपचार निःशुल्क गर्नको लागि अस्पतालसंग अनुरोध गरिरहेको स्थानीय अगुवा ताराकेशर गौतमले जानकारी दिए ।
घाइतेहरुको उपचारमा संलग्न डाक्टर नवनित रौनियारका अनुसार अमृताको दाहिने कानबाट रगत बगीरहेको र दाँया बङ्गारा सुन्निएको छ । अगाडिको तल्लो पट्टिको दुईवटा दाँत भाँचिएको छ भने शरीर भरी निलडाम छन् । कानको जाली च्यातिएको हुनसक्ने उनको अनुमान छ ।
भक्तको पनि ढाडभरी लौरीको निल डाम छन् । डा. रौनियारले भने ‘मेरुदण्डको बीच भागमा बाहिरी चोट छ र त्यस भागमा हाड अलिकति अगाडि सरेको देखिन्छ ।’ उनका अनुसार अहिले दुबै जनाको स्वास्थ्यस्थिति खतरामुक्त छ ।
घटनापछि मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले अध्ययन गरी फर्किएको छ । अधिकारकर्मीले उक्त घटनालाई छुवाछुत तथा जातीय भेदभाव विरुद्धको अपराध र ज्यान मार्ने उद्योग अन्तर्गत पीडकलाई कारबाही गरिनुपर्ने बताएका छन् । स्थानीय अगुवा ताराकेशर गौतमका अनुसार आजै मुद्दा दर्ता समेत गरिने छ ।
उता रम्माकि दिदी विष्णाकुमारी शाहीले कुटपीटको घटना सम्बन्धमा आफूहरु अनविज्ञ रहेको बताइन् । ‘हामीले २४ गते घरपरिवारलाई सम्झायौं, बहिनीलाई भेटन दिइएन । भोलिपल्ट बहिनीलाई ल्याएर आएका हौं । त्यस बाहेक हामीलाई केही कुरा थाहा छैन’, विष्णाले सेरोफेरोसंग भनिन् ।
दुबैको बहुबिवाह
बलबहादुरको यो दोस्रो बिवाह हो । गाउँकै दिपा विकलाई बिवाह गरेपछि उनका एक छोरा र एक छोरी छन् । परिवारका अनुसार श्रीमती सात वर्षदेखि छोरा छोरी सहित माइतीमै बस्दै आएकी छन् । २६ वर्षीय बलबहादुर ट्याक्टरमा खलासीको काम गर्छन् ।
स्रोतका अनुसार रम्माको पनि यो तेस्रो बिवाह हो । पहिलो बिवाहबाट एक छोरा छन् । दोस्रो बिवाहबाट जन्मिएका दुई छोरालाई पनि छोडेर बलबहादुरसंग उनले तेस्रो बिहे गरेकी हुन् । पीडित केटा पक्षका अनुसार रम्मा हाल ४ महिनाकी गर्भवती छन् ।
प्रतिकृया दिनुहोस्