सेरोफेरो
२८ भदौ । सुर्खेतमा ‘स्वाइन फ्लु’ रोगबाट एक जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीय नन्दलाल डाँगीको उपचारको क्रममा लखनउ स्थित किङजर्ज मेडिकल कलेजमा भदौ ८ गते मृत्यु भएको हो ।
नगर स्वास्थ्य शाखा प्रमुख किरण वलीका अनुसार मेहेलकुना अस्पतालले डाँगीलाई ६ गते रिफर गरेको थियो । अस्पतालको रिपोर्टबाट डाँगीको मृत्यु स्वाइन फ्लु को कारणले भएको पुष्टि भएको वलीले बताए ।
उनको मृत्यु पछि एक महिलालाई स्वाइन फ्लु भएको आशंकामा काठमाडौंको टेकुस्थित शुक्रराज टफिकल तथा सरुवा रोग अस्पताल पठाएका थिए । ति महिलामा पनि स्वाइन फ्लुको भाइरस देखिएको र औषधि उपचार पछि निको भएर मंगलबार सुर्खेत फर्किएको वलीले सेरोफेरोलाई जानकारी दिए ।
थप आशंकामा गुर्भाकोट २ र ९ का दुई जना महिलालाको र्याल जाँचको लागि टेकु पठाइएको छ । नगर स्वास्थ्य कार्यालयका अनुसार यस अघि ५४ वर्षका एक व्यक्तिको पनि स्वाइन फ्लुकै जस्तो लक्षणले मृत्यु भएको थियो ।
सुर्खेतमा स्वाइन फ्लुको संक्रमण देखिएपछि काठमाडौंबाट रोग नियन्त्रण महाशाखाका अविनाश सिङ ठकुरी र विश्व स्वास्थ्य संगठनका डा. किरण चौलागाईको टोली आएर स्थलगत अध्ययन गरेर फर्किएको छ । रुघा र ज्वरो आउने बित्तिकै स्वाइन फ्लु नहुने भएकोले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ । तर सचेतता अपनाउँदै उपचारमा लाग्नु पर्ने आवश्कता औल्याएको छ ।
नगर स्वास्थ्य प्रमुख वलीका अनुसार गुर्भाकोटमा रुघा खोकि लागेका ४२ जनालाइ शंकास्पद मानेको छ । महामारीको रुपमा रोग फैलन नदिन सजकता अपनाएको ओलीको भनाई छ ।
सामान्यतया स्वाइन फ्लु सुङ्गुर र बङ्गुरबाट मानिसमा सर्ने हो । तर सुर्खेतमा भेटीएको स्वाइन फ्लुको प्रकृति भने फरक छ । वलीले भने ‘डाँगीको रिपोर्टमा ‘एचवान एनवान प्यान्डामिक इन्फ्लुञ्जा’ भनेको छ । यो भनेको मान्छे वा जो कोहिबाट पनि सरेको भन्ने हो ।’
नेपालमा स्वाइन फ्लु भएको छ वा छैन भन्ने विषयमा परिक्षण गर्नको लागि टेकुमा पठाउनु पर्छ । त्यहाँ पनि र्याल परिक्षण गर्ने ‘भिटीएम’ पाँच वटा मात्रै छ । जुन अत्यन्त न्युन हो ।
प्रतिकृया दिनुहोस्