Birendranagar Municipality

न्याय प्राप्तिमा सहयोगी बन्न दृष्टिबिहीन महिलाको आग्रह

न्याय प्राप्तिमा सहयोगी बन्न दृष्टिबिहीन महिलाको आग्रह

सेरोफेरो

२९ भदौ । दृष्टिबिहीन महिलाहरुले आफुहरुलाइ न्याय प्राप्तिको अभियानमा सहयोग गर्न सम्पुर्ण सरोकारवाला तथा समुदायलाई आग्रह गरेका छन् ।


शुक्रबार नेपाल नेत्रहिन संघ सुर्खेत परियोजनाद्वारा सुर्खेतमा आयोजित ‘दृष्टिबिहीन महिलाहरुको न्यायमा पहुँच’ विषयक कार्यक्रममा सहभागि महिलाहरुले यस्तो आग्रह गरेका हुन । ‘सार्वजनिक स्थलमा हिडडुल गर्दा सहयोग गर्ने बहानामा कतिपय पुरुषहरु स्तन छुन आइपुग्छन्’ कार्यक्रममा सहभागी एक महिलाले भनिन् ‘दृष्टिबिहीन महिलालाई दयाले होइन, सहयोगी भएर व्यवहार गरियोस् ।’


न्याय माग्न जाँदा सरकारी निकायका कर्मचारीले रुखो व्यवहार गर्ने, काम गरिदिनको लागि झन्झट मानेको जस्तो गर्ने गरेको सहभागीहरुले बताए । उनिहरुका अनुसार कुनै घटना लिएर जाँदा प्रत्यक्षदर्शी खोज्ने र देख्न नसकेकै कारण घटनालाई बेवास्ता गर्ने गरिन्छ । दृष्टिबिहीन सोमना खड्का भन्छिन् ‘दृष्टिविहीन महिलाको घटना लिएर जाँदा तपाइहरु आँखा देख्नुहुन्न । कसरी पत्याउने भनेर पन्छिन खोज्छन् ।’ आवाज संस्था हुँदै जिल्ला प्रहरी कार्यलयमा दर्ता भएको मुद्दा पनि बेवास्ता गरीएको उनले बताइन् ।


कतिपय दृष्टिबिहीन महिलाहरु न्याय नपाइने भएपछि जस्तो अन्याय भए पनि सहेर बस्ने गरिरहेको सहभागीहरुले बताए । दृष्टिबिहीनको सवालमा गरिने कार्यक्रममा केही सरोकारवाला सरकारी निकायका व्यक्तिहरु पनि सहभागी नहुने गरेको उनीहरुको गुनासो थियो ।


कार्यक्रममा दृष्टिबिहीनको पक्षमा कानून आएता पनि अझै व्यवहारीक कठिनाइहरु भएको अधिवक्ता गीता कोइरालाले बताइन् । कानुनहरु समयानुकुल हुदै गएतापनि सामाजिक सोचको कारण न्याय प्राप्तीमा समस्या भएको जिकिर गर्दै उनले भनिन् ‘न्यायमा पहुँच पर्‍याउन अन्य महिलाहरुलाई पनि समस्या परिरहेको विद्यमान अवस्थामा तपाइहरुलाई समस्या नहुने कुरै भएन । अबका दिनमा तपाइहरुको न्याय प्राप्तीमा म सहयोगी बन्न चाहन्छु । कानूनी समस्या भए भने मलाई सम्झनु ।’


परियोजनाले दृष्टिविहीन भएका महिलाहरुका हक, अधिकार सुनिश्चित गर्ने अभिप्रायले उनीहरुको पुर्नस्थापना, शिक्षा, अभिमुखिकरण, सचेतना, विभिन्न सीपमुलक तालिम र रोजगारी सिर्जना गर्ने पक्षहरुमा गतिविधि सञ्चालन गरीरहेको सुर्खेत परियोजनाका संयोजक रीता चन्दले जानकारी दिइन् ।  

२०७४ भदौ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्