सेरोफेरो
३१ भदौ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले सर्वसम्मत रुपमा उम्मेदवार बनाएका बालाराम शर्मालाई हराउन गरिएको अन्तरघातलाई अपराध ठहर गरेका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले भने ‘चुनावको समयमा कांग्रेस, सकिएपछि एमाले हुनेलाई पश्चातपले राति निन्द्रा नपरोस । त्यस्ता घाति नबाँचे पनि हुन्छ ।’
वीरेन्द्र्रनगर नगर पालिकाका प्रमुख पदका उम्मेदवार बालाराम शर्मालाई पार्टीले नगरपालिका देखि केन्द्रिय कमिटीबाट सर्बसम्मत अगाडी सारेको सम्झाउँदै उनले कार्यकर्तासंग प्रश्न गरे ‘एक भोट रुखमा, छ भोट सुर्यमा कसरी भयो ? के उद्देश्यले गरियो यस्तो घात ? कि पैंसा खाइयो ?’ यो भुल जनताले होइन एमाले भित्रका मान्छेले गरेको उनको ठम्याइ छ । ‘यस्ता गद्दारीलाई तह लगाउनु पर्छ । अब यस्ता खालका अपराध नहोस् । दोषी भाग्न पाउँदैन । पार्टीले खोजिरहेको छ ।’ नेता ज्ञवालीले प्रष्ट्याए ।
एमाले, आउनेलाई स्वागत र जानेलाई विदाई गर्ने पार्टी भएकोले एमालेमा बस्न नचाहनेहरुलाई पार्टी छाडेर जान आग्रह गरे । प्रदेश नं ६ का संयोजक समेत रहेका उनि भन्छन ‘यस्ता अन्तरघातिहरु एमाले छाडेर गए हुन्छ । बरु एमालेमा बस्दिन अर्को पार्टीमा जान्छु भन्दा हामी बिदा गर्छौं ।’
पार्टी भित्रै बसेर एमालेलाई घात गर्नु भनेको राष्ट्रलाई घात गर्नु एमालेको निष्कर्ष छ । एमाले हार्नुलाई राष्ट्र हार्नु सरह दाँजेर सम्पुर्ण कार्यकर्तालाई प्रदेशको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन लाग्न नेता ज्ञवालीले आग्रह गरे ।
खर्चिलो चुनावलाई इङ्गित गर्दै उनले पैंसाले चुनाव जित्ने हो भने पार्टी पुँजिपतिलाई ठेक्का दिनुपर्ने बताए । नत्र बुद्धि पुर्याइ संगठनको बलमा चुनाव जित्ने परिपाटी बसाल्नुपर्ने आवश्यकता औंल्याए । उनले पार्टी विभिन्न रोगले ग्रसित हुँदै गएकोले पार्टी भित्र सरसफाइ अभियान सुरु गर्नु पर्ने बताए ।
यसैगरी एमाले पोलिट व्युरो सदस्य यमलाल कंडेलले नीति र कार्यक्रम जस्तो कार्यकर्ताको व्यवहार पनि कम्युनिष्टको जस्तो हुनुपर्ने भनाई राखे । अब हुने प्रदेशको निर्वाचनमा जनताको भरोशा र भावनालाई आत्मसाथ गरेर पार्टी विभिन्न आन्तरीक समस्याबाट मुक्त भई चुनावि मैदानमा जानु पर्ने बताए ।
माओवादी नीति, दिशा र भविष्य विहिन भएकोले गन्तव्य एकिन गर्न अलमलिरहेको उनकोआरोप थियो । मुलुकको नेतृत्व र सम्बृद्धिको अविभारा अब एमालेको काँधमा आएको भन्दै उनले प्रदेशको निर्वाचनमा एमालेलाई बहुमत दिलाउन आ–आफ्नो क्षेत्रबाट लाग्न कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिए ।
जिल्लाका करीब तीन सय बढी कार्यकर्तामाझ एमाले सुर्खेतका उपाध्यक्ष अमृत विसी र अखिल नेपाल महिलासंघकी केन्द्रिय सचिव सुमित्रा विसीले भनाइ राखेका थिए । पार्टी अध्यक्ष ध्रुवकुमार शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोहन बडुवालले गरेका थिए ।
प्रतिकृया दिनुहोस्