सेरोफेरो
७ असोज । गायक बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन् । कतारको दोहामा सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेबाट उनी नेपाल आइडल बन्न सफल भएका हुन् । यससंगै उनले २० लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।
दर्शक तथा श्रोताबाट अत्याधिक रुचाईएका उनले सबैभन्दा बढी भोट प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी निशान भट्टराई दोस्रो बढी रुचाईएका गायक हुन् भने गायक प्रताप दास तेस्रो स्थानमा पर्न सफल भएका छन् । नेपाल आइडलको फर्ष्ट रनर अपले १५ लाख तथा सेकेन्ड रनर अपले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
एपीवान टीभीको चर्चित रियालिटी शो नेपाल आइडलको ग्राण्ड फिनाले दोहाको ओमसलाल अल सानिम ईण्ड्रस्ट्रियल एरिया ग्राण्डमलको एम्पीथिएटर हलबाट शुक्रबार मध्यरातमा प्रत्यक्ष प्रसारण गरिएको थियो । उक्त शो हेर्न करीब १७ हजार दर्शक अट्ने हल खचाखच भरिएको थियो ।

झण्डै चार लाख नेपाली रहेको कतारको उक्त हलबाट प्रसारित कार्यक्रममा बुद्ध, निशान र प्रतापसहित १२ प्रतिस्पर्धीहरु सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल र केञ्जलमेहर श्रेष्ठले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नारद खतिवडा, हेमन्त राना, तेरिया मगरलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं कतारका लागि नेपाली राजदुत महामहिम प्रा. रमेशप्रसाद कोइरालाले नेपाल आइडलले नेपाललाई विश्व समूदायसंग जोडेको प्रतिकृया दिएका थिए ।
नेपाल आइडलमा कलाकारहरु न्यूह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायकको भूमिकामा रहेका थिए । दर्शकको भोटका आधारमा नेपाल आइडल छानिएको आयोजकले जनाएको छ ।
(तस्बिरहरू : गुगल)
प्रतिकृया दिनुहोस्