सेरोफेरो
९ असोज । व्यवस्थापिका संसदका दुई समितिले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी सरकारी निर्णय खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १२ सय मेगावाट क्षमताको उक्त आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन ।
समितिको संयुक्त बैठकले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी सरकारी निर्णय नेपालको प्रचलित नियम कानुन सम्मत नदेखिएको,सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएकोले निर्णय खारेज हुनुपर्ने ठहर गरेको छ । गेजुवा नेपालमा जलविद्युत क्षेत्रमा असफल सावित चिनिया कम्पनी भएकोले पनि प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिने निर्णय गरेको हो ।
अर्थसमितिका सभापति प्रकाश ज्वाला र कृषि तथा जलस्रोत समितिका सभाति मोहन बरालको अध्यक्षतामा बसेको बैठकमा उर्जा राज्यमन्त्री शम्भुदास श्रेष्ठ सहभागी थिए । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी आयोजना चिनिया कम्पनी गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए ।
प्रतिकृया दिनुहोस्