सेरोफेरो
९ सेरोफेरो । व्यवस्थापिका संसद सदस्य हृदयराम थानीले सुर्खेत लगायत मध्यपश्चिमका जिल्लालाई सुदुरपश्चिमसंग मिसाउने योजना आफूले विफल बनाएको जिकीर गरेका छन् ।
क्रियाशील पत्रकार मञ्च सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको सातौं साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री समेत रहेका थानीले ६ नम्बर प्रदेश राज्यलाई घुँडा टेकाएर ल्याइएको बताए । उनले भने–‘हामी कर्णाली पारी जान चाहँदैनौं भनेर मैले संसदमा बोलें । यहाँका केही नेताले यस प्रदेशलाई सुदुरपश्चिममा गाभ्न खोजेको प्रयास असफल भयो ।’
हालको सात प्रदेशसहितको संघीय राज्यको खाका आउनुअघि ६ र ७ नम्बर प्रदेश संगै थिए । ६ प्रदेशको मस्यौदा मान्य नहुने भन्दै सुर्खेतमा विशाल आन्दोलन भएको थियो । आन्दोलनको मुख्य माग अखण्ड मध्यपश्चिम थियो । आन्दोलनका क्रममा तीन जनाले ज्यान गुमाए । सुर्खेत केन्द्र हुनेगरी भएको आन्दोलनलाई यस क्षेत्रका विभिन्न जिल्लाले समर्थन गरेका थिए । ति दिन सम्झंदै थानीले भने–‘मैले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासंग सुर्खेत लगायतका जिल्लाको अलग प्रदेश नबनाए राजीनामा दिन्छु भनें । अब यो प्रदेश प्राप्त भएको छ । सबैले यसको समृद्धिमा ध्यान दिनु जरुरी छ ।’
मञ्चका अध्यक्ष ललीतबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रेस चौतारी नेपालकी उपाध्यक्ष टीका विष्ट, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्