सेरोफेरो
१८ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको चुनावी तालमेल तथा वाम एकताको सहमती प्रति नेपाली काँग्रेसले टिप्पणी गरेको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलसँग गरेको सहमतिलाई अस्वाभाविक भन्दै टिप्पणी गरेको हो ।
प्रधानमन्त्री एवम् नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयलाई लिएर विभिन्न दलका शीर्ष नेतासँग अलग–अलग रूपमा भेटवार्ता गरिरहेका छन् । त्यसक्रमा प्रमुख सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले राजनीतिक कोर्स परिवर्तन गर्दै प्रमुख प्रतिपक्ष एमाले र नयाँ शक्ति पार्टीसँग चुनावी तालमेल र पार्टी एकीकरणका लागि मङ्गलबार सहमति गरेपछि प्रधानमन्त्री देउवाले पार्टी बैठक, राजनीतिक भेटघाट र समीक्षालाई अगाडि बढाएका छन् ।
समसामहिक राजनितीको विषयमा समिक्षा गर्न नेपाली काँग्रेसले बुधबार कार्य सम्पादन समितिको बैठक पनि बोलाएको छ । साथै प्रधानमन्त्री देउवाले विभिन्न नेतासँग भेटी राजनीतिक विचारविमर्श समेत गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवम् लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेतासँग भेटवार्ता गरेको बताइएको छ।
राससले काँग्रेस नेता विमलेन्द्र निधिलाई उद्धृत गर्दै निर्वाचनको सङ्घारमा कम्युनिस्ट पार्टीबीच चुनावी गठबन्धनको घोषणालाई काँग्रेसले अस्वाभाविक कदमका रूपमा लिने बताएका छन् । उनले यसबाट आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् । वाम चुनावी तालमेलले नेपालको राष्ट्रवादी शक्तिलाई एकातिर गम्भीर चुनौती थपिएको र अर्कोतिर एक ठाउँमा उभिने अवसर पनि मिलेको नेता निधिले बताए ।
काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले नयाँ परिस्थितिको मूल्याङ्कन र निर्वाचनका लागि पार्टीको कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशका लागि ५० जिल्लाबाट उम्मेदवारको नामावली प्राप्त भएको र अन्य जिल्लाको पनि आउने क्रम जारी रहेको समेत पौडेलले जानकारी दिए।
(गोरखापत्रको सहयोगमा)
प्रतिकृया दिनुहोस्