Birendranagar Municipality

गौचनको हत्यापछि निर्माण व्यावसायी आन्दाेलित

गौचनको हत्यापछि निर्माण व्यावसायी आन्दाेलित

सेरोफेरो
२३ असोज । नेपाल निमार्ण व्यवासायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि देशभरका निर्माण व्यावसायी आक्रोशित भएका छन् । सोमबार दिउँसो आफ्नै निवास राजधानीको शान्तिनगरबाट खरिबोट हुँदै बानेश्वरको मुल सडकतर्फ जाँदै गर्दा अज्ञात समूहले उनी चढेको गाडीमा गोली हानेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


उनी चढेको बा १३ च ४९४८ नम्बरको गाडी चालकले चलाएका थिए भने उनी चालकसंगैको अगाडि सिटमा बसेका थिए । खरीबोट चोक नजिक कविता स्टोर अगाडि आइपुग्दा उनी सवार गाडीमथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

कच्ची सडक र मोडका कारण गाडी एकदमै सुस्त गतिमा चलिरहेको थियो । सबैभन्दा पहिले मास्क लगाएका एक जनाले चालकको सिटतिर ढुंगा हाने । लगत्तै अर्कोले गौचन बसेको तर्फ २ राउण्ड गोली हाने । प्रहरीका अनुसार उनको छातिमा गोली लागेको थियो । उपचारका लागि सिभिल अस्पताल लैजानासाथ डाक्टरले गौचनको मृत्यु भएको जानकारी दिएका थिए ।

 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयहरुसँग सोधपुछको क्रममा चोकमा लामो समयसम्म बसिरहेका युवाहरुले नै गौचनमाथि गोली हानेको उनीहरूले बताएका छन् । पेशेवर सुटरको प्रयोग गरी योजना अनुसारै उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । घटनाबाट सबारी चालक भने सुरक्षित छन् । सोधपुछका लागि प्रहरीले उनलाइ नियन्त्रणमा लिएको छ।

 

व्यावसायी गौचनसँग ठूलो रकम माग गरिएको र नदिएपछि अज्ञात समूहले उनीमाथि गोली चलाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। गोली हानी हत्या भएपछि राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । घटना भएको जानकारी पाउनसाथ महानगरीय प्रहरी कार्यालयका एआइजी जयबहादुर चन्दले प्रमुख नाकाहरु सिल गर्न र सुरक्षा जाँच कडा गर्न निर्देशन दिएका छन् ।

 

घटनाको दोषी पत्ता नलागेसम्म मुलुकभर निर्माणको काम रोक्ने व्यावसायीले बताएका छन् । उनीहरूले आज राजधानीका बिभिन्न स्थानमा प्रदर्शन समेत गरेका थिए ।

२०७४ असोज २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्