Birendranagar Municipality

कैदमुक्त व्यक्ति सभ्य र उर्जाशील नागरिक

कैदमुक्त व्यक्ति सभ्य र उर्जाशील नागरिक

सेरोफेरो 

२५ असोज । कैदीहरुलााई क्षमता अनुसार समाजसेवाका काममा लगाउन सके देश विकासमा कैदीको समेत भूमिका रहने कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले बताएका छन् ।


कारागार व्यवस्थापन विभागको आयोजना तथा सिभिक्ट नेपाल, हेन्डिक्याप इन्टरनेशनल र युरोपियन युनियनको साझेदारीमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कारागार प्रमुखहरुको क्षेत्रीय गोष्ठीमा घिमिरेले उक्त कुरा बताएका हुन् । बुधबार शुरु भएको तीन दिने गोष्ठीमा मध्य र सुदुर पश्चिमका २५ कारागार प्रमुखको सहभागिता रहेको छ ।


राज्यले अपराधीलाई कैद गरेर मात्र नहुने बरु रोजगारीका अवसरमा उनीहरुलाई सरिक गराई समाज सेवामा प्रेरित गर्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘कारागारमा पढेलेखेका र दक्ष जनशक्ति छन् । जानेर वा अन्जानमा गल्ति गरी सजाय पाएका उनीहरुलाई आफ्नो क्षमता प्रयोग गर्ने ठाउँ राज्यले दिनुपर्छ ।’ कारागारमा रोजगारमुलक तथा सीप विकासका कार्यक्रम ल्याई कैदमुक्त भएपछि समाजमा सभ्य नागरिक भएर बाँच्न सक्ने वातावरणको सिर्जना राज्यले गर्नुपर्ने समेत घिमिरेले बताएका छन् ।

 

कारागारमा धेरै समस्या रहेकोले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । कारागारमा क्षमता भन्दा बढी कैदी राख्नुपरेको छ । कैदीको स्वास्थ्यमा पहुँच छैन । कार्यक्रममा बोल्दै उच्च अदालत सुर्खेतका न्यायाधीश महेश शर्मा पौडेलले कारागारमा रहेका कैदीहरुको मानवीय मर्यादालाई ख्याल गर्नुका साथै राज्यबाट पाउनुपर्ने अधिकार दिनुपर्ने बताए ।

 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले कारागारबाट मुक्त भएपछि सभ्य र उर्जाशील नागरिक भएर बाँच्न सक्ने वातावरण मिलाउनुपर्ने बताए ।

 

२०७४ असोज २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्