Birendranagar Municipality

'राज्यका शक्ति र मालिक जनता'

'राज्यका शक्ति र मालिक जनता'

सेरोफेरो

३० असोज । सूचनाको हकको सही प्रयोग गर्ने हो भने मुलुकमा सुशासन कायम हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । 'आजको युग सूचनाको युग हो, लोकतन्त्रमा जनताकै अभिमतबाट सरकार बन्छ, त्यस अर्थमा राज्यका शक्ति र मालिक जनता हुन्', उनले भनिन् । 


सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रमको उद्घाटनमा भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्ने धारणा समेत प्रस्तुत गरिन् । 'लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानूनबमोजिम सरकारका प्रत्येक काम कारबाहीबारे थाहा पाउनु जनताको अधिकार हो', उनले भनिन्- 'कर्मचारीले पनि सोही मान्यता बमोजिम काम गर्नुपर्छ ।'

 

जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउन राष्ट्रिय सूचना आयोगले काम गरिरहेको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको विश्वव्यापी प्रचलनअनुसार सूचना आयोगलाई संवैधानिक हैसियत दिनुपर्नेमा जोड दिए । कार्यक्रममा आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना आयोगले सूचनाको हकलाई स्थानीयस्तरसम्म लैजान लागि परेको बताए ।

 

सोही अवसरमा आयोगले सूचनाको सन्देश नामक किताब विमोचन गरेको छ । कार्यक्रममा आयोगले आयोजना गरेको निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगी तथा आयोगमा कार्यरत कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

२०७४ असोज ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्