Birendranagar Municipality

विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिन्छ : उपकुलपति कोइराला

सेरोफेरो
३१ असोज । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्राविधिक विषयलाई उच्च प्राथमिकता दिने बताइएको छ । नेपाल सरकारद्वारा स्वीकृत १० ओटा आङ्गिक क्याम्पसहरुसँग मंगलवार वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयले सो प्रतिवद्धता जनाएको हो ।

 

अन्तरक्रिया कार्यक्रममा ५ र ६ नं. प्रदेश अन्तर्गतका प्रस्तावित विभिन्न १० आङ्गिक क्याम्पसका प्रमुख, क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा क्याम्पस अवस्थित स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी थिए ।

 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइरालाले प्रस्तावित आङ्गिक क्याम्पसहरुले साधारण शिक्षाका कार्यक्रमहरुको निरन्तरता मात्रै भन्दा पनि उच्च शिक्षामा प्राविधिक तथा व्यवसायिक शिक्षाका कार्यक्रमहरुलाई सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

 

उपकुलपति कोइरालाले प्रचलित ऐन, कानून र विश्वविद्यालयको विधि, पद्दति अनुरुप आङ्ग्कि कार्यान्वयनको प्रक्रियालाई अघि बढाउने बताए । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उच्च शिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्दै शैक्षिक उत्कृष्टताको केन्द बनाउनुपर्ने धारणा ब्यक्त गरे ।

 

कार्यक्रममा निवर्तमान सांसद तथा तिलाकर्णाली बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तुलाराज विष्टले विश्वविद्यालयलाई जनताको घरदैलोमा पु¥याउने अभिप्रायले आफूले जनचाहना अनुरुप नीति निर्माण तहमा रहेर अभियानमा इट्टा थपेको स्मरण गरे ।

 

अन्तरक्रियामा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँकेका क्याम्पस प्रमुख शिशिर शर्माले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक प्रक्रियालाई अविलम्व अघि बढाउनुपर्नेमा जोड दिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

 

२०७४ असोज ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्