Birendranagar Municipality

तिहारको तेस्रो दिन लक्ष्मीको पूजा आराधना गरि मनाईंदै

तिहारको तेस्रो दिन लक्ष्मीको पूजा आराधना गरि मनाईंदै

सेरोफेरो
२ कार्तिक । आज यमपञ्चकको तेस्रो दिन धनकी देवी लक्ष्मीको श्रद्धा र भक्तिभावका साथ पूजाआराधना गरी मनाइदै छ । आजकै दिन बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । गाईलाइ पूजा गरी रोटी तथा अन्य परिकारहरु खुवाउने र माला लगाइ पूजा गर्ने चलन छ । साथै जनैपुर्णिमाको दिन हातमा बाँधेको रक्षाबन्धनलाइ समेत गाइको पुच्छरमा बाँध्ने चलन समेत रहेको छ ।

 

साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मी पूजाको दिन घरआँगन सफासुग्घर र लिपपोत गर्ने चलन छ ।

 

फोहोर घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

 

यो दिनलाई कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

 

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

 

लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

२०७४ कार्तिक २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्