सेरोफेरो
९ कार्तिक । आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा, आरधना र उपासना गरि मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठको अवसरमा निकै रमझम देख्न पाइन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ । यस पर्वमा व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्दछन् ।
छठको मुख्य दिन मानिने आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास गरिन्छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको रहेको विश्वास छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ दिने विधिविधान छ ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।
शरुमा तराईको सीमित क्षेत्रमा सिमित रहेको छठ अहिले राष्ट्रिय पर्वको रुपमा रहेको छ । वि.सं. २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।
प्रतिकृया दिनुहोस्