१२ कात्तिक । आगामी निर्वाचनमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बसीरहेको छ ।
उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँट, समानुपातिकको बन्द सूची संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
वाम गठवन्धनमा आवद्ध दलहरुसँग सिट बाँडफाँट आजै टुंगो लगाउने तयारी भइरहेको छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १६ गते मनोनयन दर्ता हुने भएकाले सकेसम्म आजै उम्मेदवार टुंगो लगाउने तयारी दलहरुले गरेका छन् ।
यसैगरी आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची संशोधनको अन्तिम दिन भएकाले पनि दलहरु त्यसको गृहकार्यमा जुटेका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
त्यसका लागि राजनीतिक दलहरु आज बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् ।
राजनीतिक दलहरुले २९ असोजमा समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए । उक्त नाममा कसैको नाम संशोधन गर्ने भए आयोगले आजसम्मको समय दिएको हो । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार निवेदन दिन सक्नेछन् ।
समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ । त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझ लगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
प्रतिकृया दिनुहोस्