
सात ओटा रङहरूको मिश्रणबाट बन्ने सुन्दर इन्द्रेनी सबैको आकर्षणको केन्द्रविन्दु भएझैँ समाजमा पनि दिगो शान्ति कायम गर्न सद्भाव चाहिन्छ जसले हरेक व्यक्तिलाई एकताको मालामा गाँस्ने काम गर्दछ । जसरी एउटा वृक्षले आफू वरिपरिको भूमि, ढुङ्गा, माटो आदिलाई भूक्षय, पहिरो आदिबाट जोगाउँछ त्यसरी नै सद्भावरूपी रुखका एकतारूपी जराले दिगो शान्तिलाई जोगाएर राख्दछ । ‘दिगो शान्ति’ शब्दले शाब्दिक रूपमा स्थायी रूपमा रहने शान्तिलाई जनाउँछ ।
‘सद्भाव’ शब्द सत् र भावबाट बन्ने भएकाले यो शब्दले एकआपसमा राखिने असल भाव वा विचारलाई जनाउँछ । ‘एक’ आधार शब्दमा ‘ता’ प्रत्यय लागेर बनेको ‘एकता’ शब्द एक हुनुको अवस्था, एक भएको अवस्था भन्ने अर्थ दिन्छ । शाब्दिक अर्थ फरक भए पनि दिगो शान्ति, सद्भाव र एकता नजिकै रहने छिमेकीजस्ता परिपूरक शब्द हुन् । चङ्गालाई आकाशमा सयर गर्न हावाले र नियन्त्रण गर्न धागोले भूमिका निर्वाह गरेझैँ दिगो शान्ति स्थापना गर्न सद्भाव र एकताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एकतिर दिगो शान्ति स्थापना गर्न एकापसमा सद्भाव र एकताले अहम् भूमिका निभाउँछ भने अर्काेतिर दिगो शान्ति भएको वातावरणमा नै एकता र सद्भावका फूलहरू फुल्न सम्भव हुन्छ । यसरी सद्भाव, एकता र दिगो शान्तिका बिचमा घनिष्ठ सम्बन्ध देखिन्छ ।
मानव सभ्यताको इतिहास पल्टाउने हो भने सत्य, द्वापर, त्रेता र कलि युगका कतिपय सन्दर्भहरू एकताकाको शक्तिका जीवन्त उदाहरण प्रतीत हुन्छन् । जुनजुन सभ्यता तथा जीवन पद्धतिहरू चर्चित छन् अर्थात् त्यहाँ दिगो शान्ति कायम रह्यो जहाँ एकता, सद्भाव र अनुशासन कायम रह्यो । सद्भावमा रतिभर आँच आउने बित्तिकै विखण्डनले प्रश्रय पाउँछ । राम वनवासको प्रसङ्ग होस् वा सीता हरण वा लङ्का दहन सद्भावमा दरार आएर नै भएका हुन् । अर्काेको अस्तित्वलाई स्वीकार गर्न नसक्ने अहम्को वातावरणमा रावण, धृतराष्ट्र, दुर्याेधन, शकुनी, हिटलर, मुसोलिनी आदिको बोलावाला हुन्छ र एकता तथा सद्भावको गला रेटिन्छ । जब सद्भावको गला रेटिन्छ तब जन्मन्छ अर्काे कुरुक्षेत्र, लङ्का सङ्ग्राम अनि विश्वयुद्धहरू । दिगो शान्ति भयो भने कला, साहित्य, प्रशासन, संस्कार लगायत हरेक क्षेत्रमा कायापलट हुन सक्छ । सिन्धु घाँटीको लगायतका सभ्यता दिगो शान्तिका परिणाम हुन् । लिच्छवि काल, मल्ल काल, आदि वास्तुकला क्षेत्रका स्वर्ण काल हुनुमा दिगो शान्ति जिम्मेवार छ ।
जसरी फूलको थुँगाहरूलाई सानो धागोले एकताबद्ध गर्दछ त्यसरी नै सद्भावरूपी धागोमा एकताबद्ध भएर दिगो शान्तिरूपी माला उन्न सम्भव रहन्छ । माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो भएझैँ साना साना कतिपय सन्दर्भहरूले समेत प्रगतिमा महत्व राख्दछन् । तोरी भरेको थैलामा सानो धागोले तोरीको रासलाई रोक्ने सामथ्र्य राख्दछ तर सानो प्वालबाट एक एक गर्दै तोरी सकिन्छ पनि । नेपाल पृथ्वीनारायण शाहले भनेझैँ ‘चार वर्ण छत्तिस जातको फूलबारी’ हो । कतिपय अन्धविश्वासरूपी मानवीय कलङ्क बाहेक नेपाली समाजमा जातिगत, धर्मगत, संस्कृतिगत, भाषागत विविधताभित्र अनुपम एकता रहेको छ । धार्मिक सहिष्णुता नेपालको विशिष्ट पहिचान हो । धर्म शब्दको मर्म बुझी सबै धर्मप्रति उच्च सद्भाव राख्दै धर्मका नाममा काटमार र द्वन्द्व नहुनुले नेपालमा धार्मिक सद्भाव र एकताको बलियो जग निर्माण भएको छ ।
बुद्ध पूर्णिमा, छठ, ल्होसार, इद, दसैँ, तिहार, क्रिसमस, श्रीपञ्चमी, शिवरात्रि, होली आदिमा एकले अर्काेलाई शुभकामना दिई असीम श्रद्धा व्यक्त गर्ने नेपालीको अनुपम परम्परा विश्वलाई मार्गनिर्देशन गर्ने दस्तावेज बन्न सक्छ । मन्दिर, गुम्बा, गिर्जाघरको अनुपम सङ्गम, वेद, कुरान, त्रिपिटक, बाइबलको अद्वितीय सङ्गम स्थल नेपाल विश्वलाई शान्तिको पाठ सिकाउने गौतम बुद्धको जन्मभूमि पनि हो । वैदिक सनातन परम्परा, हाम्रो सांस्कृतिक आदर्श, ऋषि परम्परा र त्यसको गम्भीर प्रभावले हरेक नेपालीभित्र ‘बुद्ध मन’ को पवित्र चित्र कोरिएकाले नेपालमा सद्भाव र एकताको जग अझै बलियो देखिन्छ । हरेक जातिको आ–आफ्नो सभ्यता र संस्कृतिले नेपाललाई भूस्वर्ग र प्रकृतिको साङ्ग्रिलाका रूपमा विश्वभर चिनाएका छन् ।
‘आफू भलो त जगत् भलो’ भनेझैँ हाम्रो वैदिक संस्कृतिदेखि नै ‘सत्य मेव जयते’ अर्थात् सत्यको सदैव जीत हुन्छ भन्ने सिकाएको छ भने गीताले कर्मवादी बन्न सिकाएको छ । अठार पुराणको अन्तमा व्यासले परोपकारलाई धर्म र परपीडालाई पापका रूपमा अथ्र्याएको हुनाले वैदिक दर्शनको गम्भीर प्रभाव नेपाली अवचेतन मनसम्म नै परेको देखिन्छ । छुवाछुतका नाममा केही कलङ्क रहे पनि नेपालमा रहने नेपालीहरूका बिचमा अहम् भन्दा वयम् अर्थात् म भन्दा हामीकै भावना छचल्किएको पाइन्छ ।
जसरी कुनै अर्काे देशसित खेल चल्दा नेपाल देश एक हुनुको र नेपाली हुनुको गौरव र राष्ट्रबोध झल्किन्छ त्यसरी नै नेपाललाई सुन्दर बनाउन सही र गलत छुट्याउन सक्ने विवेकरूपी शिक्षाको आवश्यकता पर्दछ । शिक्षाको सही उपयोगले मानिस आत्मविश्वासी, स्वावलम्बी र आत्मनिर्भर बन्न सक्तछ । जब व्यक्ति शिक्षित र स्वावलम्बी हुन्छ तब उसले मानिस हुनुको अर्थ, सद्भाव र एकताको महत्व बुझ्छ र समाजमा विद्यमान कतिपय चुनौतीहरू आफैँ समाप्त हुन्छन् । शिक्षा र रोजगारले मानिसलाई धेरै कुरा प्रदान गर्दछन् । शिक्षाले व्यक्तिलाई चरित्रवान्, नैतिक, आदर्शवान् बन्न सिकाउँछ र व्यक्तिसितै समाज, राष्ट्र र विश्व नै सद्भावले सुधामय बन्दछ ।
‘एकता नै बल हो’ भन्ने लोकोक्ति नै एकताको अर्थका लागि काफी छ । एउटा व्यक्तिका लागि लौरी सहयोगी बन्दछ तर सय ओटा लौरी एक जनाका लागि भारी बन्दछ । ‘एकले थुकी सुकी सयले थुकी नदी’ भनेझैँ एकताको बलमा गरिने कुनै पनि कार्य असफल हुँदैन । मौरी स धमिरा, कमिला आदि कीटले समेत एकताको महत्व बुझिसकेको देखिन्छ । खेल होस् अथवा युद्ध, देश निर्माण होस् वा चुनौतीपूर्ण कार्य, एकताको बलले सबै सम्भव बनाइदिँदो रहेछ ।
जबसम्म भारतीय राजा रजौटाहरूमा एकता थियो । अङ्ग्र्रेजले केही गर्न सकेनन् । ‘फुटाऊ र शासन गर’ को मोहनी मन्त्रमा परेर भारतीय एकता वशीभूत भयो फलस्वरूप इष्ट इण्डियारूपी साम्राज्यवादी ग्रहणले ढाक्न पुग्यो । जबसम्म भाइभाइमा एकता थियो रामले रावणको केही लछारपाटो लाउन सकेनन् । ‘भाइ फुटे गँवार लुटे’ भनेझैं विभीषणको गुह्य रामका लागि रामबाण नै सावित भयो । भाइभाइ बीचको सद्भाव र एकता खलबलिएर नै महाभारतीय नृशंस युद्ध भएको हो । उपत्यकाका मल्ल राजाहरूमा एकापसमा मित्रता हुँदो हो त पृथ्वीनारायण शाहले त्यसरी सहजै काठमाडौँ कब्जा गर्न सक्ने थिएनन् । एकता एक यस्तो अस्त्र हो जसको प्रयोगले असम्भवलाई सम्भव बनाइदिन्छ ।
केही समय सद्भाव बिग्रेर नेपालमा पनि गृहयुद्धको कालो बादलले नढाकेको होइन तर लामो समय रहन सकेन । दरबारिया षड्यन्त्रको सिकार भएर, दल, नेता, गुट आदिको पञ्जामा परे पनि, कथित राजनीतिका नाममा पर्दा पछाडि हुने षड्यन्त्रको वशमा परेर कोही देश विरोधी गतिविधिमा लागे पनि नेपाल बुद्धको पवित्र जन्मभूमि र प्राचीन ऋषिमुनिहरूको तपस्यास्थल रहेकोले यहाँ आपसी सद्भाव कायम नै रहेको देखिन्छ । जात, भाषा, लिङ्ग, वर्ग, सम्प्रदाय, भूगोल, वर्ण आदिले अलग भए पनि पहिले हामी नेपाली हौँ र यो देश हामी सबैको साझा हो भन्ने चेतना सबैमा आउनु आवश्यक छ । सानातिना मनमुटावलाई बाँकी राखेर सबैले नेपालको धार्मिक सहिष्णुता र सद्भाव खल्बलिन नदिई राष्ट्रिय एकताको डोरीमा बाँधिनु आवश्यक छ । परम्पराका रूपमा चलिआएका कतिपय सकारात्मक चलनलाई निरन्तरता दिई नराम्रा चलन वा अन्धविश्वासलाई चिर्दै अगाडि जानु पनि आजको आवश्यकता हो ।
विश्वलाई नै गाउँ मान्ने उत्तर आधुनिक परिवेशले विश्वका हरेक नागरिकलाई बन्धुका रूपमा परिभाषित गर्ने यो विज्ञान प्रविधिको युगको अधिकतम प्रयोग गर्दै नेपाली संस्कृतिका मौलिक पक्ष धार्मिक सहिष्णुता, अनेकताभित्रको एकताको इन्द्रेनीपनलाई जोगाएर नेपालीहरूले राष्ट्रिय एकतामा जोड दिनु आवश्यक छ । पुरातनवादी सोचबाट एक कदम माथि उठेर, सङ्कीर्णताको जालो च्यातेर आधुनिकताको क्षितिजमा पुग्न आपसी सद्भाव र एकता पहिलो आवश्यकता हो भन्नु अत्युक्ति नहोला ।
विवेकको प्रयोग, आत्मनिर्भरता, एक अर्काको भावना र संस्कृतिलाई सम्मान र आदर गर्ने हो भने सद्भावका फूलहरू ढकमक्क फुल्ने छन् र चारैतिर समृद्धिको सुवास फैलने छ । सो फूलबारीलाई एकतारूपी बलियो डोरीले बाँध्ने हो र करिब साढे तिन करोड नेपाली पुष्पको सुन्दर माला बनाउन आजैदेखि लाग्ने हो भने पृथ्वी नारायण शाहले ‘दिव्योपदेश’ मा कल्पेको र नेताहरूले बेलाबखतमा भन्ने गरेको नयाँ नेपाल निर्माण हुन केही समय लाग्ने छैन । विद्यमान सद्भाव र एकतालाई अक्षुण्ण राखी नवीन चिन्तन र फराकिलो सोचले दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको चौतर्फी विकास गर्दै परनिर्भरता तोड्नु र दिगो शान्ति कायम राखी बुद्धको जन्मभूमिको साख र गरिमालाई जोगाउन पनि राष्ट्रिय एकता ,सद्भाव र दिगो शान्ति आवश्यक देखिन्छन् ।
प्रतिकृया दिनुहोस्