१३ कात्तिक । सोमबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सोमबार बिहान बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका ४ बिरवासमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका चालकको उपचारका क्रममा पाल्पाको मिशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन । घाइतेहरूको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् ।
उक्त जीप भीरबाट ३ सय मिटर तल खसेको थियाे । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन भने घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्