अध्यक्ष, राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल
राज्यका विभिन्न निकायमा राउटेको पहुँच कस्तो छ ?
जंगली राउटे जो घुमन्ते रुपमा छन् यीनिहरु आजभोली केही मात्रामा सामाजिक र व्यवहारिक भएकाछन् । जस्तै जीउमा कपडा लगाउने, घर वरपर सफा र सुग्घर गर्ने, दिशा पिसाव टाढागर्ने गर्दछन् । सामाजिक सुरक्षा भत्ता पाउने १२ जाति मध्ये राउटे पनि एक हो । १ महिला सहित पाँच जना नेपाल प्रहरी जसमा १ जना महिला आर्मी छन् ।
राज्यले राउटे विकास संघ बनाएको छ । उक्त कार्यालय डडेल्धुरा जिल्लाको जोगबुढीमा छ ।
राउटेको संख्या कति छ ? घुमन्ते राउटेहरु कति छन् ?
डडेलधुराको सिर्स र आमपानीमा ६५० जना छन् । कञ्चनपुरमा २ घर छन् । २०३५ सालमा राजा वीरेन्द्रले सेना परिचालन गरेर, क्याम्प राखेर जबर्जस्ती बस्ती बसाले । घुमन्ते राउटे १५० जनाको हाराहारीमा छ ।
राउटे समूदायमा महिला प्रति कस्तो दृष्टिकोण छ ?
श्रीमती घर ल्याउँदा श्रीमतीको खुट्टा ढोगी पूजा गरेर भित्र्याउँछन् । श्रीमतीले खाँदा खाँदै रहेको खानेकुरा फाल्न मिल्दैन । श्रीमानले खानु पर्छ । श्रीमती घरमुली हुन्छन् । श्रीमान शिकार खेल्न जान्छन् । बहुविवाह हुँदैन । श्रीमान वा श्रीमती मरेपछि अर्कोले बिहे गर्दैनन् ।
दाङको डाडाखुटी गाविसमा मुखिया सेन बहादुर शाही श्रीमती वितेपछि १० वर्ष सम्म विदुर बसेका थिए । त्यसपछि त्यहाँकै एकजना एकल महिलासंग उनको विवाह गराइदियौं । त्यसयता एकल महिला वा पुरुषले बिहे गर्छन् ।
अहिले राउटे समूदायको मुखिया को हो ?
मुल मुखिया मैन बहादुर शाही (रास्कोटी) हुन् । भने तीनवटा जातका छुट्टै मुखिया छन् । जुन मुल मुखियाको मातहतमा काम गर्छन् । जसमा राजकोटी तर्फ बीर कुमार, कलेल तर्फ सुर्यनारायण र सत्याल तर्फ डील बहादुर मुखिया छन् ।
उनीहरुको विवाह के कसरी हुन्छ ?
राउटे समुदाय भित्र महिलको जनसंख्या कम भएकोले जन्मेको ५÷६ वर्षमा नै कुरा छिनिन्छ । ९ वर्ष पुगे पछि विहे हुन्छ । गर्भाधारण गर्न सक्ने उमेर देखि नरोकिएसम्म बच्चा जन्माउंछन् । बच्चा जन्माउने बित्तिकै महिला स्वयम्ले धान कुटेर खाने प्रचलन थियो । महिलाले अर्को पुरुषलाई सिधै हेर्न नमिल्ने । यदि नजर जुध्यो भने उहि पुरुष श्रीमान हुने प्रचलन थियो । अहिले त्यो कुरालाइ हामिले मेटाउंदै ल्यायौं । फलस्वरुप सुत्केरी हुँदा मात्र हैन गर्भवति भएदेखि नै श्रीमानले धान कुट्छ । दाउरा बोक्छ र दुःख हुने काम गर्छ ।
अहिले बच्चाबच्ची बाँच्ने क्रम बढ्न थालेको छ । एकजना चन्द्रमान भन्ने व्यक्तिको १२ वटा जन्मिएकामा ९ वटा बच्चा छन् । बच्चा पाउन, बचाउन र हुर्काउनमा उनी सफल व्यक्ति हुन् । सचेत हुनेहरु परिवर्तन हुदैछन् । टाढा टाढाबाट घिउ, मह संकलन गरेर सुत्केरीको निम्ति ल्याउंछन् । केटा र केटी खुसी भएपछि महका कसार मगाएर खसी वा बाख्रा लिएर माइति मान्न जाने गर्छन् । हिन्दु संस्कारमा विहे गर्छन् ।
राउटेको आयस्रोत के हो ?
नेपाल सरकारले जन्मने बित्तिकै मासिक २ हजार प्रतिव्यक्ति सामाजिक सुरक्षा भत्ता दिएको छ । गाउंघरमा गइ माग्छन् । आफुले बनाएका काठमा भाँडाहरु बेच्छन्, र आर्थीक जोहो गर्छन् ।
राउटेहरु अलि बढी पैंसामुखि भएका छन् भनिन्छ नि ?
अहिले उनीहरुलाई हेर्ने र उनिहरुका नाममा अनेक खेतिपाती गर्नेहरुका कारण उनिहरुमा केहि विकृतिहरु आएका छन् । हाम्रो समाज विग्रीएसंगै उनिहरुमा पनि केहि स्वार्थी पना आएको छ । एक मुठि चामल दिनुको साटो यहाँ मान्छेहरु जाँड, रक्सी खुवाउंछन् । अर्को कुरा उनिहरु जस्तो जाडोमा पनि सामान्य स्याउलाको छाप्रो भित्र भुइँमा सुतेका हुन्छन् । निन्द्रा नलाग्ने भएपछि थोरै जााड खानु पनि सामान्य हो । पहिले घरमै जाँड बनाउंथे अहिले बजारको रक्सी पनि खाने गरेका छन् । अहिले उनीहरु मदिराको कुलतमा चुर्लुम्म डुबे । उकास्न गाह्रो छ ।
राउटे बस्तिमा कसैले सामान वितरण गर्दैछ भन्ने वित्तिकै वरपर बसोबास गरी बसेका मानिसहरु राउटे बस्तिमा जान्छन् । एक गिलास सक्सी दिन्छु यो कम्बल ल्याउ भनेर लिने गरेका छन् । हामि सुधार्ने अभियानमा छौं भने कतिपय मानिसहरु उनिहरु नसुध्रीउन झन विग्रीउन भन्ने चाहन्छन् । रुपान्तरण चाहन्नन् । जसले गर्दा कपडा नलगाउ, रक्सी खाउ भन्छन् ।
एकपटक सल्यानको कालिमाटीमा मैले कम्बल लिएर, बच्चाबच्चीलाई कपडा लिएर गएको थिएँ । गाउँ र समुदायका केहि व्यक्ति खुकुरी लिएर आए । राउटेलाई यस्ता कपडा दिन्छेस् ? तलाई दुइटुक्रा पार्छु भने । म डराइन । मन देखि चाहन्छु म उनिहरुको रुपान्तरण ।
राउटेको जीवनशैलिको बारेमा बताइदिनुस न ?
कपडा आफै सिलाएर लगाउंछन् । सुतिको कपडा लगाउंछन् । खानामा भात, तरकारीमा धेरै मन पराउने रायोको साग, मुला, बन्दागोभि हो । सामान्यतया नुहाउँदैनन् । आजकाल परिवर्तन भएका छन् । सरकार र सरोकारवालाले ध्यान दिएको खण्डमा परिवर्तन हुन्छन् ।
माघेसंक्रान्ति उनीहरुको सबैभन्दा ठूलो चाड हो । यसैगरी दशैं, तिहार मनाउंछन् । शिवरात्रीको समयमा एक महिना नै शीव पार्वतिको पुजा गर्छन् । पुजामा जसरी भएपनि मासु खान्छन् । खसी, बाख्रा,कुखुराको मासु, जाँड बनाउंछन् । कोहि कतै जाँदैनन् चाडबाडको समयमा । नाच्छन् । रमाउंछन् ।
राउटेको क्षेत्रमा काम गर्नको लागि तपालाई के कुराले प्रभावित बनायो ?
दैलेख जिल्लाको चुप्रा खोलाको पुल नजिकैको सालघारीमा बच्चा जन्मिएको रहेछ । कपडा नभएर असुराको पातमा राखेको रहेछ । बच्चा छटपटाइरहेको रहेछ । त्यो देखेर मैले यिनिहरुलाई केही गर्ने बाचा गरे । मुखियाकि श्रीमतिलाई मैले दांगबाट काठमाण्डौ हेल्पिङ हेन्ड अस्पतालमा भर्ना गरेर खुट्टाको अप्रेसन गरी पठाएपछि अहिले हिड्न सक्ने भएकि छन् । खालि खुट्टाले हिड्दा सालको छेस्को बिझेछ । त्यहि छेस्को पछि इन्फेक्सन भएर क्यान्सर भएको रहेछ । उनि हाल हिड्न सक्छिन् । खुट्टा सन्चो भएकोमा खुशी छन् । त्यस्तै सेवा गर्ने मेरो मनमा पलायो म प्रभावित भए ।
तपाइ ‘राउटेकी भान्जी’ कसरी हुनु भयो ?
राउटेले मित लाउने चलन छ । मुखिया मैन बहादुर हाम्रो मामासंग मिल लगाउनु भएको । दैलेखको लाकुरी गाविसमा मेरो मामाघर हो । त्यहि गाउको तल बस्थे राउटेहरु । एकदिन म राउटेको बस्ति गएको थिएँ । माथि गाउंका मनिराम मुखिया तिम्रा के पर्छन भनेर राउटेको मुखियाले मलाई सोधे लाई सोधें । मैले मेरो आफ्नै मामा हो भनें । त्यसपछि मुखियाले मैले औंला काटेर लगाको मित हो भने । त्यसपछि उनले भान्जि भने । त्यस यता उनिहरुले मलाई विश्वास गर्छन् । मैले पनि घात गरेको छैन ।
घुमन्ते राउटेहरुको नागरिकता कसैको पनि छैन । अब हामिले प्रयास गरीरहेका छौं । लिन्छौं भनेका छन् । उनिहरु जाने ठाउँका स्थानियहरु, सरकारी तथा गैरसरकारी निकायहरुले पहल गरेमा यो काम सफल हुन्छ । मतदानको बारेमा जानकार छन् । हाम्रो प्रधानमन्त्री माधव नेपाल हो भनेर सुर्खेतको झुप्रा खोलामा संविधानसभाको निर्वाचनमा चुनाव एमालेलाई जिताउन प्रचार गरेछन् । केही फटाहा गाउँलेहरुले हामी एमालेलाई भोट हाल्छौं तिमीहरु हम्रो धान काटीदेउ भनेछन् । तीन दिन सम्म धान काट्न लगाएछन् । पछि चुनाव जितेपछि खुसी भएर नाचे रे । माधव नेपाललाई असाध्यै मान्छन् साथै प्रचण्डलाई पनि अत्यन्त माया गर्दछन् । उहाँहरु दुबैले राउटेलाई व्यवस्थापन र रुपान्तरणको लागि केहि पहल गर्न पर्छ ।
राउटेहरु झगडा कसरी मिलाउंछन ?
सबै झगडा मुखियाले मिलाउंछन् । श्रीमतिलाई कहिल्यै पनि कुटपिट गर्दैनन् । बरु श्रीमानलाई कुट्छन् श्रीमतिले । कमजोरी अनुसार दण्ड तोकिन्छ । समुदायको कुनै एकजनालाई बाहिरी समुदायको व्यक्तिले कसैले केहि भयो भने सबै एकजुट भएर आउंछन् । सामान्य कुरा आफ्नै परिवारमा मिलाउँछन् ।
विरामी हुँदा के गर्छन् राउटे ?
पहिल उनीहरुले ‘जाडो लागे भोटो, चोट लागे खोटो’ भन्थे । अहिले पनि खोटो लगाउंछन् । खोटोले रगत सोस्छ । र घाउ कुहीएर जान्छ । अहिले परिवर्तन भएका छन् । औषधी पनि खान्छन् । जति नै ठूलो डाक्टर नै किन नहोस उनिहरु विश्वास गर्दैनन् । विश्वासिलो मान्छेले दिएपछि मात्र प्रयोग गर्छन् । विरामी हुदाँ पहिले मैले मात्र औषधि गरेकी थिए अनि औषधि खानु परेमा मलाई मात्र सम्झनै गर्दछन् ।
के राउटे रुपान्तरण हुन चाहन्छन् ?
चाहन्छन् र हुदै गइराखेका पनि छन् । पहिले शहर जानुहुन्न भन्थे । पैंसा संग व्यवसाय गर्नु हुदैन भन्थे । त्यसैले आफुले बनाएका काठका भाँडाकुँडा अन्नमा साट्थे । पहिले पहिले नयाँ लुगा दिएपनि लिन चाँहदैनथे । नयाँ लुगा दिँदा पनि पुराना ल्याउ भन्थे । गाउंका मान्छे यसै गरीव, आफै टालेर लाउंथे । त्यस्ता मान्छेले पनि फालेका लुगा कस्ता हुन्छन ? अहिले नयाँ लाउने इच्छा गर्छन् । पुराना कपडा दिंदा लिन्नौ भन्छन् । युग बदलिने कुरा चाँडै हुदैन् ।
६/७ जना यूवाले मलाई दिदी यस्तो ठाउंमा बस्न हुन्न भागौं भन्थे । मुखियाले नदेख्ने र यहाँका गाउंलेले नि नभेट्ने ठाउंमा जाऊँ । काम हामी गर्छौं । पैंसा तिमी लैजाउली भन्थे । परिवर्तन हुने हुटहुटी छ । तर मुखियाको डर मान्छन् । साथै नेपाल सरकारले यदि रुपान्तरण गर्न चाहेको भए म आफै यिनीहरुलाई सहयोग गर्न सक्नेछु । बस्ती बसाउँछु ।
कतिपयले राउटेलाई परिवर्तन गराउनु हुदैन । किनकी तिनीहरु आम मान्छे भए भने राउटेको पहिचान रहँदैन भन्छन् नि ?
त्यो सरासर गलत हो । कसले कसको पहिचान राखेको छ र यहाँ । त्यसो भए बाहुनहरु त धोति कछाँट बाँधेर हिड्नु पर्यो नि । किन रक्सीको बोत्तल समाएर हिड्छन् ? अर्कालाई पहिचान भनेर बाँध्ने । अर्कालाई पहिचानको नाममा जिन्दगी बर्बाद गराउने ? हो पहिचान जोगाउनु पर्छ । उनिहरुको भाषा, संस्कृतिलाई संरक्षण गरिनु पर्छ । अर्कालाई भन्नेहरुले पहिला आफ्नो पहिचान बचाउन्, अनि मात्र अर्काको पहिचान बचाईन्छ ।
तपाइलाई नै राउटेको नाममा पैंसा खाइ भन्ने आरोप छ त । के हो ?
नेपालमा एनजिओ चलाउन दिने सिस्टम ल्याउने र ल्याइदिने मानिसहरुको गल्ति हो । नेपाल सरकारकै निकायमा कागज बोल्छ भनछन् । कागज बोल्छ भन्ने भाषा छ । मेरो संस्थाको वैंक खाता नै सार्वजनिक छ । म संग प्रहरी, पत्रकार संगै हुन्छन् । किनकी म चुनौतिको ठाउंमा जंगलमा जान्छु । पैसा मेरो संस्थाको खातामा नै छैन । जसले मलाई पैसाखाई भन्छ उसैले खान्छ होला ।
राउटे उत्थान प्रतिष्ठान कहिले देखि सुरु गर्नु भयो ?
यो २०६८ सालमा दर्ता गरेको संस्था हो । अहिले सम्म करिव ७ लाखको पनि काम गरिएको छैन । कामको मुल्याङ्कन बाहिरका मानिसहरुले गर्ने कुरा हो । मैले गरेको कार्यक्रमको फोटो राखेर प्रपोजल ल्याउंदा रहेछन् । पोहोर साल म मन्त्रालयमा गएको थिएँ । राउटेको नाममा कति करोडको पो पैंसा गा‘छ । तिमी कति प्रपोजल ल्याउंछौं भने । कसले सम्झौता गरेको मलाई नाम दिईएन । या त मन्त्रालयका मान्छे मिलेर खान्छन् । या कोही मान्छे बनाएका छन र कमीसन खाएर दिन्छन् । २५ प्रतिशत दिने शर्तमा म कार्यक्रम लिन्न ।
एकपटक मेरो २० लाख को कार्यक्रम कुनै निकायमा स्वीकृत भएको थियो । ५ लाख हामिलाई ल्याउ १५ लाखले काम गर भने । ५ लाखको बिल मैले कहाँबाट ल्याउने ? म यो सम्झौता गर्दिन भने । सारै चित्त दुख्यो । मैले यो कुरा बाहिर ल्याएपछि अन्ततः मलाई प्रोजेक्ट पास नै गरेनन् । पैंसा खानुको कुरै छोडौं यस किसीमले म सम्झौता नगर्ने भएपछि प्रोजेक्ट नै पाउंदिन । आफै मिलाउदिन भने कसरी खान्छु ? संस्थाको खाता नं. ३६४५ राष्ट्र बैंक, बानेश्वर शाखामा छ ।
अन्य स्रोत के हो प्रतिष्ठानको ?
बरु हामीले भैलो खेल्यौं । बच्चा बच्चिको न्यानो कपडाका लागि प्रतिष्ठानको व्यानरमा । जम्मा ४ हजार पनि उठेन । अरुको भैलोमा यति लाख उति लाख उठ्यो भन्छन् । कसरी ? हामीसंग नाच थियो, भैलो खेल्ने समुह थियो, संस्थाको व्यानर थियो, राउटेलाई न्यानो कपडा दिने उद्देश्य थियो । तर मानिसहरु मागिखान आएको भनि हेपेर बोले । यो समाजका मानिसले पैंसा खायो भन्न सुहाउंछ ? पछि रामचन्द्र सरको घरमा गयौं । उहाँ पाल्पा जानु भएको रहेछ । तर उहाँले म पहल गर्छु भन्नु भयो । पछि पेशागत महासंघ संग समन्वय गरेर यत्रो कपडा हामिले राउटेलाई दिन सफल भयौं । यो त उदाहरण हो । यस्तै विभिन्न निकायसँग सरकारका स्थानियसँग समन्वयन गरेर काम गरेका छौँ ।
यसरी काम गर्दा परिवारका सदस्यहरुले के भन्नुहुन्छ ?
भैले खेल्दा छोरीले मलाई बुढी भएर पनि यस्तो मादल समाएर जाने ? कसैको लागि म नाच भनेनी नाच्छु, माग भने पनि माग्छु । यो पैंसा मैले खाने हो र ? राउटेको छोराछोरीलाई टोपि त आयो नि भने. । छोराले मादल लगायतको बाजागाजा किनिदियो । छोराछोरीले एकदमै सहयोग गर्दछन् ।
राउटेका बच्चालाई पढाउने काम के भइरहेको छ ?
स्थायी बसोबासवाला राउटेको लागि स्कूल छ । विपी प्रावि, डडेल्धुरा ।
घुमन्तेहरुको लागि राष्ट्रिय योजना आयोगको स्वयम् सेवक कोष अन्तर्गत धनबहादुर बुढालाई तोकिएको छ । आयोगबाट टोलि आएर ३/४ दिन बसेर अनुगमन गरेर जानुभयो । उहाँहरुले सत्यदेवी अधिकारीलाई काम गर्दिन र पैंसा खान्छे भन्नहरु अपराधि हुन् । उहाँप्रति विश्वास छ भन्नु भयो । शिक्षकको पैंसा संस्थाको खाता मार्फत आए १५ प्रतिशत काट्ने लगाएतका नियमहरु छन् । मैले संस्थालाई चाहिंदैन । सम्बन्धीत शिक्षकको खातामा पैंसा राखिदिनुस भनें । तर नियमले दिएन र संस्थामा आउँछ । हामी उनलाई दिन्छौं । उनि केटाकेटीलाई सिकाउछन् ।
राउटेका बच्चाबच्चीले पढ्न मान्छन् त हाम्रो समुदायको शिक्षकसंग ?
बच्चाहरुले किताव समाएर त पढ्दैनन् । बच्चाहरुसंग खेल्ने, मुख धोइदिने, नुहाइदिने, कहिले काँहि विद्यालयतिर खेल्न लैजाने, गीत गाउने, नाच्ने लगाएतका कामहरु गराइन्छ । उनीहरुलाई पढ्न मन लगोस भन्नको लागि यस्ता क्रियाकलाप गर्ने हो । विस्तारै परिवर्तन हुन्छन् ।
राउटेलाई रुपान्तरणको लागि राज्यले के गर्नपर्छ ?
सर्वप्रथम त राज्यले १४० जनालाई त जसरी नि राख्न सक्छ । होस्टेलमा नै ३/४ हजार विद्यार्थी हुन्छन् । उनिहरुलाई सजिलो हुने, उत्पादन हुने ठाउंको खोजि गरी राख्ने । राउटे सम्बन्धी अध्ययन, अवलोकन तथा डकुमेन्ट्री बनाउन बाहिरबाट आउनेहरुले प्रतिष्ठानसंग समन्वय गरी जाने व्यवस्था गर्ने । नागरिकता लिनको निम्ति सहजताको वातावरण बनाउने, उनिहरुको विश्वाशिलो मान्छेमार्फता परामर्श गराउने गर्न पर्यो ।
म त यो प्रतिष्ठान नै सरकारलाई जिम्मा दिन चाहन्छु । काम गर्नको लागि सरकारले विश्वास गरेको व्यक्तिलाई मनोनित गरोस । अनावश्यक पैंसा खाको आरोप त लाग्दैन । स्वास्थ्य पनि ठिक छैन । कुन दिन जंगलमा मरेको थाहा हुन्न र स्वास्थ्य शिक्षा र आवास तथा खाद्य अधिकारबाट राउटे समुदाय एकदमै प्रभावित छन् । उनीहरुलाई जसरीपनि यतिकुराको राज्यले ध्यान दिनुपर्छ । यदि राज्यले विश्वास गरेको खण्डमा म लगायत यो राउटे प्रतिष्ठान आफ्नो कर्तव्य अनुसार सहयोग गर्नेछौँ ।
कहिले राउटे प्रतिष्ठान नभएर राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल संशोधन भएको छ । अबदेखि यसै नामले यस संस्थाले काम गर्नेछ । म अध्यक्ष लगायत मेरो कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुको भूमिका यस प्रतिष्ठानको भविष्य तथा राउटे जाति लगायत नेपाल सरकारका सूचीमा परेका १२ वटा जातिकै भविष्य मानेर सम्पूर्ण कार्य समितिको टिम लागि पर्नेछ ।
(राउटे हाल भैरवी गाउँपालिकाको कुसापानी जंगलमा बस्छन् ।)
प्रतिकृया दिनुहोस्