Birendranagar Municipality

दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज हुँदै

सेरोफेरो
दोस्रो चरण निर्वाचनको उम्मेदवारी मनोनयन आज हुँदै

१६ कात्तिक । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुन लागेको हो ।


४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छन् । यसैगरी प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ ।


बिहीबार कार्यालय समयभित्र दलहरुले उम्मेदवारी दर्ता गराउन सक्ने छन् । निर्वाचन आयोगले जिल्लामा स्थापना गरेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट दुवैतर्फका उम्मेदवारले उम्मेदवारी दर्ता गराउन सक्ने व्यवस्था गरेको छ ।


प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्रसँगै एकजना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।


प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि प्रतिनिधिसभाको उम्मेदवारले जस्तै दलको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

२०७४ कात्तिक १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्