तस्बिर: धनबिर दाहाल
१९ कात्तिक । नेपालकै प्रसिद्ध डिग्रेशाईकुमारी भगवती मन्दिरमा लागेको ‘पुर्णिमा मेला’को अवसरमा एक लाख बढीले मन्दीर दर्शन गरेका छन् । रुकुमको मुसिकोट नगरपालिकाको डिग्रे थर्पुमा अबस्थित मन्दिरमा सल्यान ,दांङ ,सुर्खेत, जाजरकोट, म्याग्दी, बाग्लुङ, रोल्पा र डोल्पाबाट समेत पुजाआराधना तथा मेलामा प्रसादीको रुपमा टिका लगाउन आउने गर्दछन ।
खेतीपातीको काम लगभग सकिएकाले पनि दर्शन गर्नेको भिड यस बर्ष झनै बृद्धि भएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । ६ सय बर्ष पहिलेबाट यहाँ पुजापाठ गर्न सुरु गरिएको भएपनि २०३६ सालबाट ठुलो संख्यामा श्रद्धालुहरु आउने गरेका छन् । हरिबोधनी एकादशी देखी पुर्णिमा सम्म बिशेष पुजापाठ गरिने उक्त मन्दिरमा साइकुमारी देवीलाई भाकल गरेको पुरा हुने विश्वास छ ।
मन्दिरमा सयौंको संख्यामा बोकाको बली समेत दिने गरिन्छ । यस बर्ष मन्दिरमा भेटी चढाएको र बोकाको टाउका बिक्री गरेर करिब ७ लाख रकम संकलन हुने अनुमान गरिएको छ । यस बर्ष करिब १६ सय भन्दा बढि बोकाको बलि दिइएको र एक लाख भन्दा वढिले मन्दिरको दर्शन गरेको हुँदा ७ लाख भन्दा वढि रकम संकलन हुनसक्ने मन्दिर व्यवस्थापन समितिको अनुमान छ । बिशेष गरी यो मन्दीरलाई शक्ति पिठको रुपमा लिइन्छ । डिग्रे शाईकुमारीको दर्शनपछि मनले चिताएको पुरा हुने मन्दिरका पुजारी रामप्रसाद गौतमले जानकारी दिए ।
पूर्णिमाको दिन लाग्ने मेलामा स्थानीय कला संस्कृति झल्कने लोकदोहोरी, सामूहिक लोकनृत्य, एकलनृत्य पञ्चेबाजा, मयुर नाच, लोकबाजा र भजनले मेलाका दर्शकहरुलाई मनोरञ्जन दिने गर्दछन् । मेलामा यस बर्ष मदिरा, जुवातास, राँगा, बंगुर, कुखुराको मासुको प्रयोगमा पूर्णरुपमा रोक लगाइएको थियो । यहाँ डिग्रे साईकुमारी भगवती देवी, सत्यनारायण, खप्तड बाबा, शिवजी लगायतको पूजा गर्ने गरिन्छ । बिशेष गरी ‘सगाल’ को लाठी बर्साउने नाच निकै चाख लाग्दो हुन्छ ।
मन्दिरको ऐतिहासिक महत्व
पौराणिक किम्बदन्ती अनुसार द्वापर युगको अन्त्य सँगै प्राचिन कालमा धेरै लामो समयसम्म पानी नपरि खडेरी परिरहेको थियो । पानीको हाहाकार परेको समयमा थर्पु गाउँमा गृहस्थी गौतम थरका व्राहमणका गाईहरु पानी खान नपाई पानीको खोजीमा गए । पश्चिम नेपाल तत्कालिन सल्यान थुम (गौडा) रुकुम मुसीकोट अन्तर्गत थर्पु डिग्रेको पानीको धारा भएको स्थानमा अद्भुत पहरामा एक अपरिचित सुन्दरीले हालको शाईकुमारी मन्दिरको तलतिर मुहान भएको धारामा स्नानगरिरहेको अवस्थामा ति गृहस्थी पुरुषले देखे । गाई खोजीरहेको समयमा पहराबाट पानी बगिरहेको र त्यहाँ सुन्दरीले स्नान गरिरहेको देख्दा ती सुन्दरीको तेजले उनलाई हेर्न नसकी उत्तर पूर्व फर्किँदा एक पहेलो वस्त्रधारी पुरुषलाई देखेछन् ।
यी घटनाक्रमले आश्चर्य चकित भएका ब्रामण केही बोल्न वा कुरा गर्न नसकी आफ्ना गाई खोज्नतिर लागेछन र त्यस स्थानवाट नजिकै उन्नेचौर भन्ने ठाँउमा गाईहरु भेटाएछन् । घरतिर ल्याउन खोज्दा ती गाईहरु पानीको मुहान भएका ठाँउमा गइ ती सुन्दरीको वरीपरी बसेछन् । सुन्दरीको नजिकबाट गाइलाई घरतिर लैजान खोज्दा तीनै सुन्दरीले गाईहरु तपाईका होईनन् यी गाईहरु अबदेखि मेरा भै’सके । यदि गाई लिने हो भने एउटा सर्त मान्नुपर्छ भनिछन् ।
‘यो ठाँउ अति पवित्र, स्वच्छ, सुन्दर भएकोले शक्तिपिठ बनाउनु पर्दछ । ठुली एकादशी तुलसीको वीउ रोपी मठ वनाई तुलसीको वेर्ना रोपी वेर्ना जगाई कार्तिक बैकुण्ठ एकादशीको दिनमा नुहाईधुवाई गरि तुलसी पुजागरी तुलसीलाई वाँसको लिंगो हाली तुलसीको जल खाई सुद्ध भई ब्रत वस्ने चलन चलाई वैकुण्ठ चतुर्दशीको दिनमा पुजाआजा गर्ने मूल पर्वको रुपमा मानी म शाईकुमारी भगवती देवी र महादेव शिद्ध वावाको विधीवत पुजाआराधना गरि मेरा वाणहरुलाई वोका वली चढाई साँझ सन्ध्या अघिसम्म पुजापाठ चलाउनु । राति देवी र शिद्ध वावाको आराधना गरि जाग्राम बसी भोली पल्ट पुर्णिमाको दिनमा मेला भरी पुर्णिमाको साँझपख फुलपाती, फल्लार बाँडेर मेला विसर्जन गर्ने गरि म शाईकुमारी भगवती देवीको र महादेव शिद्ध वावाको पवित्र मन्दिर विधिवत रुपमा स्थापना गरि यही पानीको मुहान रहेको गुफा फल्याघर मन्दिर र मेरो नजिकमा रहनु भएका महादेव शिद्धबाबाको मन्दिर मेरो भन्दा माथीतिर निर्माण गरी विधिवत तरिकाले पुजा आजा गर्ने चलन चलाउनु नत्र अनिष्ट हुनेछ ।’
ति सुन्दरीले यस्तो भनेपछि पहेलो बस्त्रधारी महादेव शिद्धबाबा लगाएत गाईहरु समेत अदृष्य भएछन् । ती गृहस्थी व्राहमण आफ्नो घरमा आई गाउँघरमा सो कुरा जाहेर गरि स्थानीय गाउँलेहरुलाई ती देवीले भनेका सवै वृतान्त भनि स्थानीयबाट सहयोग लिई देवीले भनेको स्थानमा काष्ठ मन्दिर (फल्याघर) बनाई गौतम थरका अत्री गोत्रका ब्राहमण जीवदास उपाध्याय गौतमका सन्तान पुजारी बनाई माहिला छोराका सन्तानहरुलाई श्री शाईकुमारी भगवती देवी र महादेव शिद्धबाबाको पुजाआजा गर्ने जिम्मा लगाई विधिवत तरिकाले नित्य पुजा आरधना गर्ने सुरुवात गरे ।
श्री शाईकुमारी भगवती देवी र महादेव शिद्धबाबाको मन्दिर सहितको सुरक्षा गर्ने जिम्मा साँख गाउका आदीवासी तथा जनजातीहरुलाई दिइयो । जसले बाजागाजा सहित लट्ठी ठोक्दै भुतप्रेतलाई डरत्रास देखाउदै सुरक्षा गर्ने जिम्मा पाए । शक्तिपिठ भएकोले यहाँ वर माग्नेलाई पुजारीको तर्फवाट आशिर्वाद दिई मेला विसर्जन गरि मेला टुङ्गयाउने परम्परादेखि चल्दैआएको छ ।
परम्परा सनातन र संस्कृतिलाई थाती राख्दै यो मन्दिरमा विहान साँझ नित्य पुजा गर्ने गरिन्छ । यस मन्दिरको स्थापना कहिले भएको भन्ने एकिन हुन नसके पनि यस मन्दिरमा रहेको १६४१ लेखिएको घण्टले पौराणिक मन्दिर हो भन्ने कुरा स्पष्ट हुन्छ ।
(पुजारीको सहयोगमा)
प्रतिकृया दिनुहोस्