Birendranagar Municipality

एक दुलहा दुई दुलही : विवाहको कार्ड बन्यो भाइरल

एक दुलहा दुई दुलही : विवाहको कार्ड बन्यो भाइरल

इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरेको भने पाइँदैन । तर, एक जना पुरुषले भने नयाँ अभ्यास सुरु गरेका छन् ।


उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन् । जुन सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । इन्डोनेसियाको सामाजिक सञ्जालमा चर्चा कमाइरहेको उक्त कार्डबारे प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले त्यसमा महिलाको बेइज्जत भएको टिप्पणी समेत गरिरहेका छन् ।


रोचक कुरा त के छ भने बहुविवाहको पक्षपातीहरु समेतले उक्त कार्डको आलोचना गरिरहेका छन् । दोस्रो विवाह गर्न मुस्लिम पुरुषले पहिले एउटा महिलासँग बसेर मात्र अर्को विवाह गर्नुपर्ने बताएका छन् । केहीले उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भनेर मजाक उडाइरहेका छन् भने केहीले यसलाई ठट्टा भएको धारणा राखेका छन् ।

 

इन्डोनेसियाको वेभसाइट डेइटिकले उक्त विवाहको कार्ड असली भएको पुष्टि गरेको छ । उक्त विवाह समारोह आयोजना हुने दक्षिणी सुमात्रामा रहेको तेलुक किजिङ नामक गाउँका मुखियासँग कुरा गरेर पत्रिकाले उक्त कुराको पुष्टि गरेको थियो ।


पान्सेर नाम गरेका ती मुखियाले आफैले उक्त कार्ड बनाएको बताउँदै सिन्ड्रा नाम गरेका युवकले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गरी ९ तारिखमा एउटा भव्य समारोहको आयोजना गरे ।


दुई दुलही मध्ये इन्डाह सोही गाउँको भएको र अर्की दुलही अर्कै गाउँको भएको पान्सेरले बताए । दुलहाले दुवै परिवारलाई यस अनौठो विवाहको जानकारी पनि दिइसकेको र दुवै परिवार यसमा राजी भएको पनि खुलासा गरे ।


उनले यसरी केही दिनको अन्तरालमा एक पुरुषले दुई विवाह गरेको पहिलो अवसर नभएको पनि बताए । ‘यसअघि पनि तीन पटक एउटा पुरुषले दुई जना महिलालाई केही दिनको अन्तरालमा विवाह गरेर एउटै समारोह आयोजना गरेका थिए,’ पत्रिकासँग कुरा गर्दै पान्सेलले भने ।


इन्डोनेसियाको बहुविवाह बारे समाचार बनेको यो महिना दोस्रो पटक हो । यसअघि बहुविवाहका लागि स्मार्टफोन एप बनाइएपछि उक्त समाचारले निकै चर्चा बटुलेको थियो ।

(एजेन्सी)

२०७४ कात्तिक २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्