Birendranagar Municipality

पश्चिम रुकुमका ९ र पूर्व रुकुमका १७ मतदान स्थल अति संवेदनशील

मनिषा केसी/रुकुम
पश्चिम रुकुमका ९ र पूर्व रुकुमका १७ मतदान स्थल अति संवेदनशील

फाइल फोटो

२४ कार्तिक । आगामी मंसीर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्धारण गरिएका रुकुम (पश्चिम) का ७३ मतदान स्थल मध्ये ९ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।

 

त्यस्तै ५७ वटा संवेदनशील र ७ वटा मतदान स्थल सामान्य रहेको रुकुम (पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । संवेदनशीलताका आधारमा जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालनको तयारी भईरहेको उनको भनाई छ ।

 

समग्र जिल्लालाई भने अति संवेदनशील मानेर सुरक्षा योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । रुकुम (पश्चिम) का यी ७३ मतदान स्थलमा १ सय ११ मतदान केन्द्र रहेका छन् ।


त्यस्तै रुकुम (पूर्व) का ३१ मतदान स्थलमध्ये १७ वटा अति संवेदनशील, १२ वटा संवेदनशील र २ वटा सामान्य रहेको रुकुम (पूर्व) का प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले जानकारी दिए । ३१ मतदान स्थलमा ४२ वटा मतदान केन्द्र कायम गरिएको छ ।

 

पश्चिमको तुलनामा पूर्व भौगोलिक रुपले पनि विटक भएकोले संवेदनशील मतदान स्थल बढि रहेका छन् । रुकुम (पूर्व) मा पनि पहिलो चरणमा मंसीर १० गते नै मतदान हुँदैछ ।

२०७४ कार्तिक २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्