Birendranagar Municipality

पूर्वप्रधानमन्त्री बिष्टको निधन

सेरोफेरो/काठमाडौं
पूर्वप्रधानमन्त्री बिष्टको निधन

२५ कार्तिक । पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ । ९० वर्ष उमेरमा शनिबार बिहान ज्ञानेश्वरस्थित निवासमा उनको निधन भएको हो ।

 

पञ्चायती कालमा तीनपटक प्रधानमन्त्री बनेका तथा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषद उपाध्यक्ष भएका बिष्ट लामो समयदेखि क्यान्सरले ग्रस्त थिए।

 

बिष्टको प्रधानमन्त्रीकालमा नेपालको उत्तरी सिमानाबाट भारतीय सेना फिर्ता पठाइएको घटना नेपालको राजनीतिमा महत्वपूर्ण घटना मानिन्छ । तत्पश्चात् नेपालले दुई छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्धको शुरुवात गरेको थियो।

 

बिष्ट पहिलो पटक २०२५ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि २८ सालमा दोस्रो पटक प्रधानमन्त्री भएका उनले ३२ सालमा सिंहदरबारमा आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिए ।

 

राजा महेन्द्र र वीरेन्द्र दुवैका विश्वास पात्र बिष्ट तेस्रो पटक २०३४ सालमा पुनः प्रधानमन्त्री बने। २०३६ सालको जनमत संग्रह घोषणा हुँदा उनी प्रधानमन्त्री थिए। पछि उनलाई हटाएर जनमत संग्रह बेला राजा वीरेन्द्रले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएका थिए।

 

मृत्युपछि मलाई कुनै सम्मान नदिनू भन्ने चाहना अनुसार आजै पशुपति आर्यघाटमा सामान्य रूपमा उनको अन्त्येष्टि गरिएको छ। उनको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकन्द्रबहादुर चन्द र उपप्रधानमन्त्री कमल थापा आर्यघाट पुगेका थिए ।

२०७४ कार्तिक २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्