Birendranagar Municipality

उद्योगमैत्री नीति बनाउन स्थानीय सरकारलाइ सरोकारवालाको आग्रह

सेरोफेरो/सुर्खेत

२७ कार्तिक । सुर्खेतको वीरेन्द्रनगरमा सोमबार भएको एक कार्यक्रमका सहभागीले उद्योगमैत्री नीति र कार्यक्रम बनाउन स्थानीय सरकारलाई आग्रह गरेका छन । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लास्थित उद्योगहरुको वर्तमान अवस्था, चुनौति र सम्भावना विषयक अन्तरक्रियामा सहभागी उद्योगी तथा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन ।

 

उद्योगलाई प्रोत्साहन तथा जगेर्ना गर्ने सरकारी नीति, प्रविधि, पूर्वाधार, प्रोत्साहन, उचित वातावरण र दक्ष मानव संशाधनको अभावमा सुर्खेतमा उद्योग फस्टाउन नसकेको ठहर गर्दै यस्तो सुझाव दिइएको हो ।

 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विगतमा शैक्षिक, पर्यटकीय र प्रशासनिक शहरका रुपमा सीमित बनेको वीरेन्द्रनगरलाई अब औद्योगिक शहरका रुपमा विकास गरिने बताए । वीरेन्द्रनगर लगायत, सुर्खेत जिल्ला र सिंगो प्रदेशको समृद्धिका लागि पनि निजी क्षेत्रसंग सहकार्य गरेर समृद्धिका सम्भावनाहरुलाई पहिल्याउने प्रयास जारी रहेको उनको भनाई छ ।


मानव संशाधन विकासमा विगतमा गरिएको सरकारी लगानी प्रभावकारी नभएको उल्लेख गर्दै नगरप्रमुख सुवेदीले आगामी दिन प्रभावकारी र फलदायी तवरले उत्पादनमूलक सीप सिकाइने जिकिर गरे ।

 

यस्तै, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले नयाँ संरचना गइसकेपछि नयाँ चुनौति र समस्या आउन नदिन पूर्व योजना बनाई पूर्व तयारी गर्नुपर्ने आवश्यक्ता औल्याए । छैठौं प्रदेशको निर्विकल्प राजधानीका रुपमा रहेको वीरेन्द्रनगरलाई प्रशासनिक केन्द्रका रुपमा मात्र सीमित नराखी औद्योगिक हवका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

 

संघका उद्योग उपाध्यक्ष वासुदेव शर्माले निजी क्षेत्रको एकल प्रयासले मात्र औद्योगिक विकास सम्भव नभएको भन्दै यसका लागि सरकारी निकायले पनि हातेमालो गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक शम्भू पौडेलले श्रोतसाधनको समुचित प्रयोग गर्दै दीर्घकालीन योजना बनाए मात्र उद्योगले सफलता पाउने कुरामा जोड दिए ।

 

बैंकर्स एसोसिएसनका सल्लाहकार कर्णबहादुर सिंजालीले बैंकिंग नियमानुसार सबै उद्योगहरुलाई उद्योगमा आधारित (प्रोजेक्ट वेस्ड) ऋण लगानीका लागि बैंकहरु तयार रहेको बताए ।


सुर्खेती ढाका समूहकी नन्दाकुमारी थापा मगरले बैंक तथा वित्तीय संस्था र सरकारी निकायहरुले समेत महिलाले सञ्चालन गरेका उद्योगहरुलाई नपत्याई दिंदा सोचेअनुरुप प्रगति गर्न नसकिएको गुनासो गरिन ।

 

कार्यक्रममा महिलाले सञ्चालन गरेका उद्योग तथा वीरेन्द्रनगरमा सञ्चालन हुने नयाँ उद्योगहरुको सहजताका लागि वीरेन्द्रनगर नगरपालिकाले विशेष नीतिका साथै उद्योग र उद्यममा आधारित कार्यक्रम बनाई लागू गर्ने निर्णय भएको छ ।


यस्तै वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडरलाईन जडानका लागि पहल गर्ने र औद्योगिक क्षेत्रको फोहोर संकलनका लागि नगरपालिकालाई आग्रह गर्ने समेत निर्णय गरिएको कार्यक्रम संयोजक गणेश कार्कीले जानकारी दिए ।

२०७४ कार्तिक २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्