२८ कार्तिक । मंगलबार विहान एमाले नेता शेरधन राईमाथि भोजपुरमा भएको बम आक्रमण प्रति नेकपा एमालेले घटनाको भर्त्सना गरेको छ । घटना लगतै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गर्दे सत्तापक्षको सुरक्षामा मात्र सरकार केन्द्रित रहेकोमा आक्रोस व्यक्त गरे ।
बाम गठबन्धनका उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएपछि एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ ।’
विज्ञप्तिमा यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग समेत गरेका छन् ।
साथै घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न समेत एमालेले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्