Birendranagar Municipality

होटलमा छापा मार्दे सुर्खेत प्रहरी : बर्दीको आडमा आतंक मच्चाएको सर्वसाधरणको आरोप

भ्यानमा चढाउँदा कुटपिट भो, यातनाविरुद्ध मुद्दा दर्ता गर्छौं : पीडित,   प्रहरीले व्यक्तिको अधिकार हनन गर्‍यो : बार अध्यक्ष भण्डारी,  कसरी पक्राउ गरिएको हो ? बुझ्छु : एसपी चर्तुवेदी
सेरोफेरो/सुर्खेत
होटलमा छापा मार्दे सुर्खेत प्रहरी : बर्दीको आडमा आतंक मच्चाएको सर्वसाधरणको आरोप

३० कार्तिक। नागरिकको जीउ, ज्यानको सुरक्षा गर्ने दायित्व प्रहरीको हो । तर, प्रहरी नै बर्दीको आडमा आतंक मच्चाउँदै हिँडेपछि सुरक्षाको अनुभूती कसरी गर्ने ? जिल्ला प्रहरी प्रमुख फेरिएसंगै सुर्खेत प्रहरीले जथाभावी होटलमा प्रवेश गर्दै छापा मार्न थालेको छ । जसले गर्दा निर्दोष युवा युवतीले यौनकर्ममा संलग्न रहेको आरोप खेप्नुपरेको छ ।

 

प्रहरीको अपरिपक्क कार्यले केही दिन यता वीरेन्द्रनगरका होटल व्यवसायीहरु त्रसित बनेका छन् । खानतलासीको नाममा होटलमा शान्तपूर्वक बसिरहेका ग्राहकलाई यौन क्रियाकलापकै लागि बसेको हुन सक्ने अनुमान लगाउँदै पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) को सरुवा भएपछि होटलबाट पैसा असुल्न प्रहरीले ग्राहक पक्राउ गर्दै त्रास फैलाउने गरेको हो । अचम्मको कुरा के भने यदि कुनै होटलमा यौन क्रियाकलाप हुने गरेपनि व्यवसायीसंग बार्गेनिङका कारण उसलाई पक्राउ गर्दैन् । यसले गर्दा प्रहरीले केवल पैसा असुल्न छापा मारिरहेको आरोप लाग्ने गरेको छ ।

 

होटलमा खाजा खाइरहेका ग्राहकलाई जबर्जस्ती पक्रेर सामाजिक रुपमा बदनाम गरेको भन्दै पीडितको एक समूहले कानुनी बाटो रोजेको छ । बुधबार दिउँसो हटियालाइनस्थित एक होटलमा खाजा खाइरहेका सादा पोशाकका सैनिक जवानसंग विगतमा यौन क्रियाकलापमा पक्राउ परेकी युवतीहरुको बार्गेनिंग नमिलेपछि ती युवतीलाई फसाउन सैनिक जवानले प्रहरी बोलाएका थिए ।

 

प्रहरीले अर्को टेबुलमा बसिरहेका युवाहरुलाई समेत पक्राउ गरेर हिरासतमा राखेको थियो । आफूहरुको ती युवतीसंग कुनै चिनजान नहुँदै अनाहक प्रहरीले बदनाम गरेको उनीहरुको आरोप छ । भ्यानमा चढाउँदा प्रहरीले लौरीले हिर्काएको, हिरासतमा अनावश्यक टर्चर दिएको पीडितको गुनासो छ । खुट्टामा प्रष्टै चोट देखिएकाले प्रहरी अधिकृतविरुद्ध यातनाविरुद्ध उजुरी दिने पीडितले बताए ।

 

‘होटलमा बसेर शान्तपूर्वक खाजा खाइरहेका बेला एक्कासी प्रहरी आएर भ्यानमा चढायो’ एक पीडित युवाले आक्रोश पोखे, ‘प्रहरीले हचुवाको भरमा पक्राउ गर्दोरहेछ । व्यक्तिको जीवनमाथि यो भन्दा ठूलो खेलवाड अरु के हुन सक्छ । कसैको चरित्र यति हचुवाका भरमा सिध्याइदिने ?’ होटलभित्र बसेर खाइरहेकाहरुलाई बिना अभियोग पक्राउ गरेर मदिरा सेवन गरे–नगरेको मेडिकल टेस्ट गरेको बताइएको छ । मदिरा सेवन गरेर होहल्ला गरेमा, सवारी साधन चलाएमा मापसे परिक्षण गर्ने गरिन्छ । ‘प्रहरीलाई चित्त नबुझ्न वित्तिकै होटलमा बसिरहेका बेला पक्राउ गरी मापसे चेक गरियो’ युवाहरुको भनाई थियो, जतिबेला पनि मेडिकल टेस्ट गरेर फसाउने नियत देखियो ।

 

वीरेन्द्रनगरमा दिनदहाडै चोरीका घटना भैरहन्छन् । दिउँसै मोटरसाइकल चोरीका घटनाले स्वयं प्रहरी आजित छ । लागूऔषध, अवैध काठ कारोबारीलाई नियन्त्रण गर्न सकेको छैन् । तर, हाकिम फेरिन वित्तिकै होटलबाट असुली गर्न भ्रष्ट नियतले छापा मार्ने गरेको साना होटल व्यवसायीको आरोप छ । जिल्ला प्रहरी प्रमुख (एसपी) मोहन आचार्य सरुवा भएलगत्तै नया एसपी उमाप्रसाद चर्तुवेदी आएका छन् ।

 

हाकिम परिवर्तनसंगै होटल व्यवसायीबाट पैसा असुली गर्ने उद्देश्यले छापा मार्ने चलनले पुनः निरन्तरता पाएको छ । अनाहकमा होटलमा खाजा खाइरहेका ग्राहकलाई पक्राउ गरेर यौन व्यवसायीको रुपमा हिरासत सजाय दिएको भन्दै होटल सञ्चालकले गुनासो पोखे । पीडित युवाहरुले कानुन विपरीत आफूहरुलाई पक्राउ गरिएको भन्दै शुक्रबार उच्च अदालतमा जिल्ला प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदी, प्रहरी निरीक्षक रेशम बोहरा, डियूटी कमाण्डरविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । भ्यानमा चढाउँदा कुटपिट भएकाले यातनाविरुद्ध मुद्दा दिने बताए ।

 

नेपाल बार एशोसियसनका जिल्ला अध्यक्ष नन्द भण्डारीले कुनै होटलमा ग्राहक बसिरहेका बखत अनाहकमा पक्राउ गर्नु व्यक्तिको नागरिक अधिकारको हनन भएको बताए । ‘यदि त्यसरी युवा–युवती बसेका हुन् भनेपनि की त युवतीले जबरजस्ती गरेको गुनासो गर्नुपर्‍यो । कि त प्रहरी आफैले रंगेहात भेटाउनुपर्‍यो । टेबुलमा बसिरहेका बेला बिना कारण पक्राउ गर्नु प्रहरीको आपत्तिजनक कार्य हो’ भण्डारीले भने, यसले व्यक्तिको अधिकारमात्रै हनन् गर्दैनन् । स्वतन्त्रतापूर्वक होटल व्यवसाय गर्न पाउनुपर्ने हकसमेत बन्देज हुन्छ ।’ उता, जिल्ला प्रहरी प्रमुख एसपी चर्तुवेदीले होटलमा हचुवाको भरमा छापा मारिएको विषयमा आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘प्रहरीले जबरजस्ती बिना प्रमाण पक्राउ नगर्नुपर्ने हो । के भएको हो म बुझ्छु ।’

 

(पश्चिमनेपालबाट)

२०७४ कार्तिक मा प्रकाशित

प्रतिकृया दिनुहोस्