Birendranagar Municipality

३२ जिल्लामा मौन अवधि सुरु

सेरोफेरो
३२ जिल्लामा मौन अवधि सुरु


७ मंसीर । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ ।

 

पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा हुँदैछ । प्रदेश नम्बर ६ का जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट र पश्चिम रुकुम गरी सातवटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुदैछ । 

 

मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले बताएको छ ।


यो अबधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन । मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुन्छ हुने निर्वाचन आयोगले जनाएको छ ।


पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार प्रसार गर्न पाइने छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने आयोगले बताएको छ ।


मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनैपनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

 

मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्नेछ ।

२०७४ मंसीर ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्