७ मंसिर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु मिलेर नेपालमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । बिहिबार नेपाली काँग्रेस रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले पार्टी एकता र गठबन्धनका नाममा नेपालको लोकतन्त्रलाई धरापमा पार्न खोजेको भन्दै नेपाली जनतालाई अधिनायकबाद स्वीकार नहुने जिकिर गरे ।
‘अब देश नयाँ मोडमा जान लागेको छ, तपाई हामीले लोकतन्त्र रोज्ने कि अधिनायकवाद रोज्ने ?’ उनले भने, ‘लोकतन्त्र रक्षा गर्ने नेपाली काँग्रेस मात्र भएकोले सबै लोकतन्त्रवादी एक हुनुपर्दछ ।’ माक्र्सवाद, लेनिनवाद, माओवाद भन्ने कम्युनिष्टहरु विश्वबाट नै लोप हुन लागेको भन्दै नेपालमा पनि धेरै दिन नटिक्ने उनले बताए । कार्यक्रममा बोल्दै देउवाले वाम पार्टीहरुले अधिनायकवाद हावी गर्दा नेपालीहरुलाई स्वतन्त्र रुपले कुनै पनि काम गर्न नदिने, बोल्न नदिने, त्रासपूर्ण जीवन बाँच्नुपर्ने जस्ता आरोप लगाए । त्यस्तै प्रधानमन्त्री देउवाले अब कुनै पनि हालतमा चुनाव नसर्ने बताउँदै विपक्षीले चुनाव सार्ने षड्यन्त्र गर्यो भन्नु आरोप मात्र भएको धारणा राखे ।
कार्यक्रममा देउवाले बुढिगण्डकी जलविद्युत लगायतका राष्ट्रिय महत्वका आयोजनाहरु नेपालीहरु आफैले पूरा गर्ने बताए । बुढीगण्डकी जलविद्युत बनाउने काम चाइनिज कम्पनीलाई दिइएकोमा आफुले त्यसलाई रोकेको उनको भनाई छ । अब विकास निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बेला आएको बताउँदै देउवाले सबै शहिद परिवार, घाईते, अपाङ्ग लगायतलाई शान्ति मिल्ने गरी कार्यक्रम दिईने आश्वासन दिए ।
प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत रुकुम पुगेका थिए ।
.jpg)
प्रतिकृया दिनुहोस्