Birendranagar Municipality

काँग्रेस र माओवादी कार्यकर्ता बिच झडप, गम्भीर घाइते कल्पनालाई उपचारका लागि नेपालगञ्ज लगियो

मनिषा केसी/रुकुम
काँग्रेस र माओवादी कार्यकर्ता बिच झडप, गम्भीर घाइते कल्पनालाई उपचारका लागि नेपालगञ्ज लगियो

८ मंसिर । काँग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ताहरु र स्थानीय माओवादी कार्यकर्ताबीच सानीभेरी गापा ७ सहरेमा झडप हुँदा एक महिला गम्भीर घाईते भएकी छिन् ।


सानीभेरी गाउँपालिका ७ का वडा अध्यक्ष कुलबहादुर बुढाकी श्रीमति कल्पना बुढाको चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । बिहिबार दिउँसो सदरमुकाम खलंगामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको चुनावी सभावाट कार्यकर्ता घर फर्कँदै गरेको अवस्थामा झडप भएको हो ।


खलंगामा भएको काँग्रेसको चुनावी सभाबाट चौरजहारी जान लागेको गाडिलाई सहरेमा एकजना मदिरा सेवन गरेको व्यक्तिले अवरोध गर्न खोज्दा झडप सुरु भएको प्रहरीले जनाएको छ । उक्त व्यक्तिलाई गाडिमा गएका तरुण दलका कार्यकर्ताले हटाउन खोज्दा स्थानीयहरु जम्मा भएर गाडि तोडफोड गर्न थालेपछि झडपले ठूलो रुप लिएको थियो ।


झडपमा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का इन्स्पेक्टर ऋषिकुमार ढुंगानाले जानकारी दिए । उनीहरु त्यसमा संलग्न भए नभएको एकिन नभएकोले उनीहरुको नाम बताउन नसकिने उनले बताए । दुवै पक्षका दोषी व्यक्तिलाई गिरफ्तार गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । उता पीडित पक्षले भने तरुण दलका कार्यकर्ताहरुले घरमै बसेकी बुढालाई कुटपीट गरेको बताएका छन् ।


सानीभेरी गाँउपालिका अध्यक्ष नरबहादुर पुनका अनुसार वडाअध्यक्ष कुलबहादुर बुढामाथि कुटपीट गर्ने उद्देश्यले त्यहाँ पुगेका काँग्रेस कार्यकर्ताहरुले बुढालाई नभेटेपछि श्रीमती कल्पना माथि कुटपीट गरेका हुन ।


घटना राजनैतिक प्रतिसोध लिएर गरिएको भन्दै कुटपीटको घटनाप्रति नेकपा माओवादी केन्द्रले विरोध जनाएको छ । जिल्ला इन्चार्ज राजकुमार शर्माले राजनैतिक प्रतिस्पर्धाबाट डराएर काँग्रेसीहरु अपराधिक क्रियाकलापमा उत्रिएको बताए । उनले घटनाको भ्रत्र्सना गर्दै दोषीहरुमाथि कडा कारबाही गर्न समेत स्थानीय प्रशासनसंग माग गरेका छन् ।


नेपाली काँग्रेस रुकुमले भने आफ्नो चुनाबी प्रचार–प्रसारको गाडीलाई माओवादीले अवरोध गर्न खोजपछि झडप भएको र झडपमा परेर बुढा घाईते भएको प्रतिक्रिया दिएको छ ।

 

२०७४ मंसीर ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्