Birendranagar Municipality

महिला स्वास्थ्य स्वयम्सेविकाको मागः देशका लागी हामी स्वयम् सेवा गर्छौं, सरकारले हाम्रो सुरक्षा गरोस्

सेरोफेरो
महिला स्वास्थ्य स्वयम्सेविकाको मागः देशका लागी हामी स्वयम् सेवा गर्छौं, सरकारले हाम्रो सुरक्षा गरोस्

८ मंसीर । वीरेन्द्रनगरका महिला स्वास्थ्य स्वयमसेविकाहरुले आफुहरुको सुरक्षा गर्न स्थानिय सरकारसंग आग्रह गरेका छन् । आफ्नो जीवन समाजको सेवामा लगाएकोले सबै स्वयम्सेविकाको जीवन विमाको व्यवस्था गर्न नगरपालिकालाई अनुरोध गरेका छन् ।


‘हो हामीले आफ्नो चाहनाले स्वयम्सेवा रोजेका हौं । सरकारले हाम्रो दुर्घटना विमा तथा जीवन विमा गरेर हामीलाई सुरक्षित महशुस गराओस’ एशोदा अधिकारीले भनिन् । सेवा भावलाई अझ प्रभावकारी बनाउन प्रोहत्साहनका विभिन्न कार्यक्रम ल्याउन पनि उनिहरुले माग गरेछन् ।


‘महिला स्वस्थ्य स्वयम्सेविकाको निस्वार्थ सेवा, स्वस्थ सम्वृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवसको सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा स्वस्थ समाज निर्माणका अभियन्ता सेविकाहरुलाई अभियानमा हिड्दा खाजाको व्यवस्था समेत नगरेकोमा उनीहरुले गुनासो गरे ।


कार्यक्रममा नगरपालिकाका प्रमुख देव कुमार सुवेदी तथा उप–प्रमुख मोहनमाया ढकालले अबको नगरसभाबाट स्वयम्सेविकाको काममा उत्साह थप्नको लागी प्रोत्साहन स्वरुप आवश्यक कार्यक्रम ल्याउने बताए ।


वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा सुआहारा कार्यक्रम सुर्खेतको समन्वयमा शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गरेवापत तीन जना स्वयम्सेविकालाई पुरस्कृत गरिएको छ । यसैगरी स्वयम्सेविका शान्तादेवी खड्का वीरेन्द्रनगर नगरकार्यपालिकाको सदस्यमा निर्वाचित भएकोमा र अन्य ४ जना वडा सदस्यमा निर्वाचित भएकोमा सम्मान गरिएको छ ।


असोज १९ गते गर्ने उक्त कार्यक्रम निर्वाचनका कारण अहिले गर्नु परेको नगर स्वास्थ्य कार्यालयका सिनियर अहेव उदय बहादुर थापाले जानकारी दिए ।


महिला स्वास्थ्य स्वयम्सेविकाको कामले नेपालको बाल मृत्यु दर र मातृ मृत्यु दरमा कमी ल्याएको भन्दै नेपाल सरकारले यस कार्यको श्रहाना गर्दै आएको छ ।

२०७४ मंसीर ८ । मा प्रकाशित

प्रतिकृया दिनुहोस्