Birendranagar Municipality

जीप दुर्घटनामा ७ को मृत्यु, ३ घाईते

मनिषा केसी/रुकुम
जीप दुर्घटनामा ७ को मृत्यु, ३ घाईते

९ मंसिर । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्बरको जीप शुक्रबार राती मुसीकोट नगरपालिका ६ साँख कालिमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका १ का जनक शाह, शेरबहादुर श्रेष्ठ उनका छोरा सुधन श्रेष्ठ र छोरी सुरेखा शाह, त्रिवेणी गाँउपालिका १ की यमूना मल्ल र रुकुमकोट निवासी प्रहरी इन्सपेक्टर नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी इन्सपेक्टर अनिता प्रधान रहेको प्रहरीले जनाएको छ । इन्सपेक्टर दम्पतीको विवाहमा गएर फर्कने क्रममा दुर्घटना भएको हो । इन्सपेक्टर नविन ट्राफिक कार्यालय सुर्खेतका प्रमुख समेत हुन । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको थियो ।


जीप दुर्घनामा घाईते चालक प्रेम थापा, सहचालक मग्मा निवासी प्रेम केसी र बर्दिया निवासी टेकबहादुर खत्रीको जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ ।


दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, आसन्न प्रदेशसभा निर्वाचनका लागि बाम गठबन्धनको तर्फबाट क्षेत्र नं. २ का उम्मेद्वार गोपाल शर्माको प्रचार टोली, मुसिकोट नपा वडा नं. ५ का वडा अध्यक्ष सुशिल गौतम लगायत स्थानीयबासीहरुले उद्दार गरेका थिए ।


विनाविभागीय मन्त्रीद्धारा दुःख व्यक्त


यसैबीच विनाविभागीय मन्त्री एवं वामगठवन्धनका प्रतिनिधि सभा सदस्यका लागि पश्चिम रुकुमका उम्मेद्वार जनार्दन शर्माले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


दुर्घटनामा परी राष्ट्रसेवक तथा समाजसेवीहरुको निधनले अपुरणीय क्षति भएको भन्दै आफु स्तव्ध भएको बताएका छन् । उनले दुर्घटनामा परी निधन भएका प्रहरी निरीक्षकद्वय नविन श्रेष्ठ र अनिता प्रधान, शिक्षिका सुरेखा शाह र यमुना मल्ल, भलिबल प्रशिक्षक जनक शाह, यातायात व्यवसायी सुधन श्रेष्ठ र समाजसेवी शेरबहादुर श्रेष्ठप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरे ।


यस दुर्घटनाबाट शोकमा रहनुभएका सवै परिवारजनमा धैर्य रहन अनुरोध र समवेदना प्रकट गर्दै मन्त्री शर्माले जीप दुर्घटनामा परि घाईते भएकाहरुको गुणस्तरीय उपचारको व्यवस्था गर्न आग्रह गर्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

२०७४ मंसीर ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्