Birendranagar Municipality

रुकुममा मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

मनिषा केसी/रुकुम
रुकुममा मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

११ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीमाथि लक्षित गरी १० गते राति चौरजहारी नगरपालिका ६ घर्तीकाँडामा बम प्रहार भएको छ । सो टोलीले चौरजहारी नगरपालिकाको वडा नम्बर ६, १०, ११, १२, १३ र १४ का मतपेटिका बोकेको थियो । बम बाटोभन्दा केही माथि परेकोले मतपेटिका र टोलीमाथि कुनै क्षति नपुर्‍याएको प्रहरीले जनाएको छ ।


बम प्रहारपछि असुरक्षित महशुस गर्दै मतपेटिकालाई राती सदरमुकाम नल्याएर इलाका प्रहरी कार्यालय चौरजहारीमा राखिएको छ । आज ती मतपेटिकालाई सदरमुकाम ल्याउने तयारी भईरहेको छ । हिजो रातिसम्ममा पश्चिम रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाको ९ वडाका मतपेटिकाहरु सदरमुकाम पुर्‍याईसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम (पश्चिम) का सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । सानीभेरी गाउँपालिकाको बाँकी २ वडा, आठविसकोट नगरपालिका र चौरजहारी नगरपालिका अन्तर्गतका मतपेटिका आज बेलुकासम्म सदरमुकाम आईपुग्ने उनले बताए । मंसिर २१ गतेपछि नै मतगणना हुने भएकोले जिल्लाभरका मतपेटिकाहरु मुसिकोट स्थित जिल्ला समन्वय समितिको कार्यालयमा राखिने भएको छ ।


त्यस्तै पूर्वी रुकुमको पनि सदरमुकाम आसपासका केही मतदान केन्द्रको मतपेटिका आइतबार बेलुका नै पुगेको र टाढाका मतपेटिकाहरु आज हेलिकप्टर मार्फत ल्याईने मुख्य निर्वाचन अधिकृत दुर्गा भुषालले जानकारी दिए । सिस्ने, रन्मा, मैकोट, अर्जल, पेल्मा लगायतका केन्द्रमा हेलिकप्टर पठाउन अनुरोध गरिएको उनले बताए । यदि हेलिकप्टर नआएको खण्डमा सबै मतपेटिका आउन २ दिन लाग्ने उनको भनाई छ ।

२०७४ मंसीर ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्