Birendranagar Municipality

आमालाई कामको चटारो, बच्चा कुपोषित

सीता वली/सुर्खेत
आमालाई कामको चटारो, बच्चा कुपोषित

११ मंसीर । नराहाकोट गाउंपालिका ३ जुम्लाकी कोइली आचार्य १८ वर्षकी भईन् । १६ वर्षको उमेरमा उनको विवाह भयो । उनको अहिले १० महिनाको छोरा छ । उनका श्रीमान नराहाकोटमै व्यापार गर्छन् ।


कोइलीलाई घरको कामले छोराको हेरविचार गर्ने फुर्सद हुदैन । विहान एकपटक दुध चुसाएर कोइली दिनभरी काममा व्यस्त हुन्छिन् । सुत्केरीमा राम्रो स्याहार र आहार विहारको कमीले होला कोइलीको दुधपनि राम्रोसंग आएन । छोरा बिरामी परेपछि कोइलीले मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल कालागांउ सुर्खेतमा छोरालाई उपचार गर्न आइन् ।


जुम्लाबाट बच्चालाई क्षेत्रिय अस्पताल सुर्खेतमा लिएर आउंदा चिकित्सकले कुपोषण भएको बताएपछि उनलाई अचम्म लाग्यो । उनी भन्छिन् ‘ मेरो बच्चा कुपोषित भएको भन्दा अचम्म लाग्यो । यो त खानपानको कमीले पो हुंदो रैछ । कामको बोझले छोरालाई खाना र सरसफाईमा ध्यान दिन पाईन ।’ यस अघि खानपानमा ध्यान नदिए कुपोषण हुन्छ भन्ने सुनेकी पनि थिइनन् ।


चिकित्सकको सल्लाह अनुसार कोइली अहिले पोषण पुर्नस्थापना गृह सुर्खेतमा बस्दै आएकी छन् । गृहमा आउंदा छोराको तौल ५ किलोको थियो । बिस दिनमै ७ किलो भएको छ । छोराको स्वास्थ्यमा सुधार आएकोले कोइली खुसी छिन ।


उनीमात्र होइन खलंगा नगरपालिका १ जाजरकोटकी अमृता चुनारा पनि ३ महिनाको छोरी संगै गृहमै बस्दै आएकी छन् । उनि भन्छिन् ‘काम नगरी खानै पुग्दैन बच्चाको स्याहार कतिबेला गर्नु ।’


कोइली र अमृता उदाहरण मात्र हुन् । ग्रामिण क्षेत्रका धेरै आमाहरुको हालत यस्तै छ । घरमा भएको चिजलाई मिलाएर खान नजान्दा कुपोषण हुने गरेको बताउंछिन् मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोषण गृह सुर्खेतकी नर्स सीता तीवारी । उनि भन्छिन् ‘बच्चालाई कुपोषित हुन नदिनको लागी खानपान र सरसफाईमा विशेष ध्यान दिनु पर्दछ ।

 

यो ग्रामीण क्षेत्रका महिलाका लागी त्यति सहज छैन । ‘पोषण पुर्नस्थापना गृहमा अहिले जुम्ला, जाजरकोट, सल्यान, दैलख र सुर्खेतका बच्चाहरुको उपचार भईरहेको छ ।  

 

२०७४ मंसीर ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्