Birendranagar Municipality

काठमाडौंका अधिकांश नगरमा मुख्य दलको मात्र उम्मेदवारी

१९ बैशाख, काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि मंगलबार तीन वटा प्रदेशका ३४ जिल्लामा उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचन आयोगका अनुसार तीन नम्बर प्रदेशको मुख्य क्षेत्र एवं केन्द्रीय राजधानी काठमाडौंमा पनि उम्मेदवारी दर्ता सकिएको छ । देशकै पहिलो महानगर काठमाडौंमा सबैभन्दा धेरै दलको उम्मेदवारी दर्ता भएको छ ।


काठमाडौं महानगरपालिकामा आठ दलले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेसले राजुराज जोशीलाई मेयर र हरिप्रभा खड्गीलाई उपमेयरको उम्मेदवार बनाएको छ । भने नेकपा एमालेले बिद्यासुन्दर लावतीलाई मेयरको उम्मेदवार बनाएको छ । नेकपा माओबादी केन्द्रले सर्वोत्तम डंगोल र सुशीला पौडेललाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।


नयाँ शक्तिले पवित्र बज्राचार्यलाई मेयर र सविना अर्याललाई उपमेयरको उम्मेदवार बनाएको छ । विवेकशील पार्टीले मेयरमा रञ्जु दर्शना एवं साझा पार्टीले किशोर थापा र निरुपमा यादवलाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ । यसैगरी राष्ट्रिय जनमोर्चाले निर्मलकुमार थापा र ऋतु सापकोटा केसीलाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।


काठमाडौंका अधिकांश नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रको मात्र उम्मेदवारी परेको छ ।

 

 

त्यसैगरी ललितपुर महानगरपालिकामा नेकपा एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । नेपाली काँगे्रसले श्रीबाबु महर्जन र गीता सत्याललाई तथा नेकपा माओबादी केन्द्रले दिनेश महर्जन र हशिना शाक्यलाई मेयर र उपमेयरको उम्मेदवार बनाएका छन् ।


भक्तपुर नगरपालिकामा नेकपा एमालेले बिष्णु सुवाल र रिता अवाल, नेपाली काँग्रेसले रामप्रसाद कासुला र गंगालक्ष्मी अवाल तथा नेकपा माओबादी केन्द्रले बिन सुवाल र इन्द्रमाया सुवाललाई उम्मेदवार बनाएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले रविकृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ भने नेपाल मजदुर किसान पार्टीले सुनिल प्रजापति र रजनी जोशीलाई मेयर र उपमेयरको उम्मेदवार बनाएको छ ।

२०७४/०१/१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्