२४ मंसिर । प्रायः सत्ताकै वरिपरि भईरहने र राष्ट्रिय राजनीतिमा स्थापित अनुहारलाई जनताले यसपटकको निर्वाचनमा अस्वीकार गरेका छन् । संविधान निमार्णपछि भएको पहिलो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा हार बेहोर्ने धेरैका लागि यो तनावको बिषय भएको हो ।
मतगणनाका क्रममा कोही झिनो मतान्तरले पराजित भएका छन् भने कोही फराकिलो मत अन्तरले पराजित भएका छन् । यसरी पराजित हुनेमा केही सरकारका मन्त्रीदेखि ४ महिनाअघि पार्टी खोलेर चुनावमा होमिएकाहरु समेत रहेका छन् ।
नारायणकाजी श्रेष्ठ
माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका नाराणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट आफ्ना पूर्व सहकर्मी डा.बाबुराम भट्टराईसँग पराजित भएका छन् । एमालेसँगको गठबन्धनबाट श्रेष्ठ र कांग्रेससँगको सहकार्यबाट भट्टराई चुनावी मैदानमा आमने सामने थिए ।
रामचन्द्र पौडेल
आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १ बाट एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भए ।
डा. शेखर कोइराला
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला एमालेका चर्चित नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितसँग मोरङ ६ मा पराजित भएका छन् ।
डा. रामशरण महत
नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हितबहादुर तामाङसँग पराजित भएका छन् । ५१ सालदेखि सबै निर्वाचन जितेका महतलाई यसपटक जनताले विश्राम दिए ।
कृष्ण सिटौला
झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
विमलेन्द्र निधि
धनुषा क्षेत्र नम्बर ३ मा निर्वाचन लडेका पुगेका विमलेन्द्र नीधिलाई राजपाका राजेन्द्र महतोले टिक्न दिएनन् । निधिले मधेशका सर्वमान्य नेता आफ्ना बाबु स्व. महेन्द्रनारायण नीधिको विरासत जोगाउन सकेनन् ।
आरजु राणा
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणालाई एमालेका नारदमुनि रानाले पराजित गरेका हुन् ।
पशुपति शमशेर राणा
यस अघिका २ वटै निर्वाचनमा हार व्यहोरेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले यस पटक पनि जित्न सकेनन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङले उनलाई पराजित गरेका हुन् ।
रामहरि खतिवडा
ओखलढुङ्गा क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार यज्ञराज सुनुवारसँग पराजित भएका छन् ।
विक्रमबहादुर थापा
महिला बालबालिका तथा समाजकल्याण मन्त्री समेत रहेका राप्रपाका नेता काठमाडौं ७ मा पराजित भएका छन् । उनी एमाले नेता तथा पूर्व सांसद रामवीर मानन्धरसँग पराजित भएका हुन् ।
उदयशमशेर राणा
नेपाल सरकारका अर्थराज्यमन्त्री उदयशमशेर राणा प्रहरीका पूर्व डिआइजी नवराज सिलवालसँग पराजित भएका छन् । ललितपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सिलवाल विजयी बने ।
अम्बिका बस्नेत
सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३ मा एमाले नेता कृष्ण राईसँग पराजित भएकी छिन् ।
नवीन्द्रराज जोशी
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी काठमाडौं ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित भएका छन् ।
डा.राजन भट्टराई
एमालेका युवा नेता डा. राजन भट्टराई कांग्रेसका युवा नेता गगन थापासँग काठमाडौं ४ बाट पराजित भएका छन् ।
झक्कु सुवेदी
२०६४ सालमा भएको संविधान सभा निर्वाचनमा एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका झक्कु सुबेदी यस पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा रक्षामन्त्री भीमसेनदास प्रधानसँग पराजित भएका हुन् ।
रविन्द्र मिश्र
नयाँ पार्टी खोलेर राननीतिमा होमिएका पूर्व पत्रकार विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग काठमाडौं १ मा पराजित भए ।
प्रकाशशरण महत
नुवाकोटबाट चुनाव लड्न काठमाडौं आएका महत काठमाडौ क्षेत्र नम्बर ५ मा एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित भएका छन् ।
पूर्णबहादुर खड्का
नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का एमालेका धुर्वकुमार शाहीसंग सुर्खेत १ मा पराजित भएका छन् ।
दीपक गिरी
पूर्वमन्त्री दीपक गिरी दाङ क्षेत्र नम्बर ३ मा पराजित भए । उनलाई एमालेका हिराचन्द्र केसीले हराएका हुन् ।
कमल थापा
राप्रपा अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका छन् । बहालवाला उपप्रधानमन्त्री समेत रहेका थापा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग पराजित भएका हुन् ।
वामदेव गौतम
बामगठबन्धनका अभियन्तासमेत रहेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ मा पराजित भएका छन् । उनलाई सिंचाईमन्त्री समेत रहेका नेपाली काँग्रेसका सञ्जयकुमार गौतमले हराएका हुन् ।
प्रतिकृया दिनुहोस्