Birendranagar Municipality

सुर्खेत २ बाट एमालेका नवराज रावत प्रतिनिधि सभा सदस्य निर्वाचित

सेरोफेरो
सुर्खेत २ बाट एमालेका नवराज रावत प्रतिनिधि सभा सदस्य निर्वाचित

२४ मंसिर । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका नवराज रावत विजयी भएका छन् । उनले नेपाली काँग्रेसका हृदयराम थानीलाई ८८०१ मतान्तरले हराएका थिए ।

 

बाम गठबन्धनका साझा उमेदवार रावतले ३७४४७ मत र थानीले २८६४६ मत प्राप्त गरेका छन् । रावत नेकपा एमाले सुर्खेतका पूर्व अध्यक्ष हुन् भने थानी पूर्व सहकारी एवं गरिबी निवारण मन्त्री हुन् ।

 

यसैगरी सुर्खेतको प्रदेश सभा २ (क)बाट नेकपा एमालेका यामलाल कंडेल निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका जिल्ला सभापति कमलराज रेग्मीलाई हराई प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । कंडेल प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार समेत हुन् । कंडेलले २१८८२ र रेग्मीले १५९४७ मत प्राप्त गरेका थिए ।

 

यस्तै प्रदेश सभा १ (ख) मा एमालेका खड्कबहदुर खत्री विजयी भएका छन् । उनले २१७२१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका झकबहादुर डाँगीले १७७२८ मत ल्याएका थिए ।

 

सुर्खेतको प्रतिनिधिसभा १ मा एमालेका धुर्वकुमार शाही र प्रदेश सभा १ (क) मा माओवादी केन्द्रका ठम्मर विष्ट यसअघिनै निर्वाचित भैसकेका छन् ।


प्रदेश सभा २ (ख) को जारी मतगणनामा पनि बाम गठबन्धनका उमेदवार विन्दमान विष्टले अग्रता कायम गरेका छन् ।

२०७४ मंसिर २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्