Birendranagar Municipality

सल्यान जिल्ला बाम गठबन्धनको लाल किल्ला, काँग्रेस २३ बर्षसम्म निल

शिब डाँगी/सल्यान
सल्यान जिल्ला बाम गठबन्धनको लाल किल्ला, काँग्रेस २३ बर्षसम्म निल

२५ मंसीर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सल्यान बाम गठबन्धनको लाल किल्ला भएको छ ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा प्रतिनिधिसभामा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाहलाइ ११ हजार १ सय ३० मत अन्तरले पछाडि पारेका छन् । 


बस्नेतले ४० हजार ८ सय ९७ मत प्राप्त गरे भने शाहले २९ हजार ७ सय ६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामिले जानकारि दिए । वस्नेतको यो लगातार तेश्रो जीत हो । उनले यस अघिको दुबै संविधानसभा निर्वाचनमा पनि जीत हात पार्न सफल भएका थिए ।


प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा सल्यान जिल्लाका तीनवटै क्षेत्रमा वाम गठवन्धनको जितपछि नेपाली कांग्रेस जिल्लामा २३ वर्षसम्म निल बन्न पुगेको छ । नेपाली कांग्रेसले सल्यान जिल्लामा २०५१ सालको चुनावपछि हालसम्म भएका कुनैपनि संसदीय चुनाव जित्न सकेको छैन ।

 

लगातार तीन पटक सम्म चुनाव जीत्ने वस्नेत को हुन् ?
नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य, पूर्व सामान्यप्रशासनमन्त्री तथा बिना विभागीय मन्त्री टेकबहादुर बस्नेतको जन्म २०२२ सालको असोज १ गते सल्यानको कोटमौलामा भएको हो । खिमलाल वस्नेत र टिकाकुमारि वस्नेतको कोखबाट जन्मीएका वस्नेतले व्यवस्थापन संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।

 

प्राविधिक शिक्षा तर्फ जेटिए पनि अध्ययन गरेका छन् । २०४० सालदेखि ४२ सालसम्म शिक्षण पेशा गरेका बस्नेतले २०४३ देखि ५० सम्म जेटिएको रुपमा सरकारी जागिर समेत खाए । यसअघि २०६४ र २०७० सालको चुनावमा सल्यान क्षेत्र नं १ बाट विजयी बस्नेत २०७४ सालमै सामान्य प्रशासन मन्त्री समेत बन्न पुगे ।

 

राजनीतिक यात्राका क्रममा लामो त्याग, तपस्या र लगनशिलताले सत्तामा आइपुगेका बस्नेतले अव सल्यान जिल्ला र समग्र ६ नम्बर प्रदेशको समृद्धिमा कस्तो भुमिका खेल्न सक्छन् भन्ने विषय उठान भएको छ । वस्नेत कुनै पनि विषयमा छिटो र तत्काल निर्णय लिनुभन्दा त्यसको गहिराईमा पुगेर निर्णय लिने गर्छन् ।


ज्वालालाइ मुख्यमन्त्री बन्ने बाटो खुल्यो
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर दुइ सल्यानमा ६ नम्बर प्रदेशको भावि मुख्यमन्त्रीको दाबी प्रस्तुत गरिरहेका एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वाला विजयी भएका छन् ।
एमालेका प्रभावशाली नेता मानिने ज्वाला दोश्रो संविधानसभा निर्वाचनमा पनि सल्यान दुइबाटै विजयी भएका थिए ।

 

ज्वालाले काग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मीलाइ लगातार दुइपटक हराएका छन् । ज्वालाले १९ हजार ८ सय ३६ र रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त गरे । राप्रपाका राजेन्द्रविर रायको ६ हजार ५४ मत आएको छ ।


६ नम्बर प्रदेशको भावि मुख्यमन्त्रीको दावी गर्ने ज्वाला को हुन् ?
पिता चक्र बहादुर साहु र आमा टिकादेविको काखबाट जन्मीएका एमाले पोलिटव्युरो सदस्य प्रकाश ज्वालाको जन्म २०२३ सालको मंशिर १२ गते सल्यानको देवस्थलमा भएको हो । एम.ए. वि.एल. सम्म अध्यन गरेका ज्वालाले ५० देशको भ्रमण गरिसकेका छन् ।

 

७ वर्ष भुमिगत जीवन र ३ वर्ष बन्दी जीवन विताएका ज्वाला २०५६ को आम निर्वाचनमा एमालेको तर्फबाट सल्यान क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचीत भएका थिए । शान्तिकालपश्चात उनी अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भइ प्रभावकारि काम समेत गरेको पाइन्छ ।


ज्वालाले राज्य व्यवस्था तथा प्राकृतिक श्रोतसाधन समितीको सभापती समेत भएर तत्कालिन राजा र दरबारको जग्गा जमीन लगाएत सम्पत्ती छानविन गरेर साहस देखाएको चर्चा गरिन्छ । उनी झलनाथ खनाल प्रधानमन्त्री हुँदा प्रमुख राजनीतीक सल्लाहकार समेत बने ।


ज्वाला २०६४ को चुनावमा सल्यान क्षेत्र नम्बर १ मा चुनाव हार्न पुगेका थिए भने २०७० सालको चुनावमा सल्यान क्षेत्र नम्बर २ बाट चुनाव जित्न सफल भएका थिए । उनका प्रतिनिधि सभामा प्रकाश ज्वाला, एक्काइसौं शताब्दी समाजवादको शताब्दी, वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन लगाएतका कृति प्रकाशनमा छन् ।


शाह पहिलोपटक सांसद्
यस्तै प्रदेशसभा सल्यान क्षेत्र नम्बर एकमा पनि बाम उम्मेदवार एमालेका बैकल्पिक केन्द्रीय सदस्य गुलावजंग शाहले जीत दर्ता गराएका छन् । उनी पहिलो पटक सांसद् बनेका छन् । दोश्रो संविधानसभा निर्वाचनमा सल्यान १ बाट पराजित भएका शाहले यसपटक भने शाहले कांगे्रसका एकराज डागीलाई ९ हजार १ सय १८ मतको फराकीलो अन्तरले पछि पारी जीत हासिल गरेका हुन ।


गणना भएको ४२ हजार ४ सय १४ मतबाट शाहले १९ हजार ६ सय ५८ मत ल्याएका थिए भने निकटतम प्रतिद्धन्दी कांग्रेसका डागीले १० हजार ५ सय ४० मत प्राप्त गरेका थिए । अर्का स्वतन्त्र उमेदवार भीमप्रकास शर्माले ७ हजार ४ सय १६ मत ल्याएका छन् ।

 

सल्यानको बिकासको लागी काम गर्ने प्रतिबद्धता
प्रतिनिधिसभामा निर्बाचित टेकबहादुर बस्नेत सोमबार भएको अन्तीम मत परिणाम घोषणा कार्यक्रममा लगातार जीत्दा आफुलाइ जिम्मेवारि बढेको महसुस भएको बताए । उनले अवको आफ्नो प्राथमिकतामा दाङ सल्यान सडकखण्डको स्तर उन्नती गर्ने र १० वटै स्थानीय तहमा पक्की मोटरबाटो पुर्याउने कार्य पहिलो प्राथमिकतामा रहेको बताए । उनले आगामि ५ बर्ष भित्रमा जनतासंग गरेका बचा र अधुरा रहेका काम पुरा गर्न आफु प्रतिबद्ध रहेका बताए ।


यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर दुइ बिजयी प्रकाश ज्वालाले आफुलाइ मुख्यमन्त्री बन्नका लागी ढोका खुलेको बताउदै समग्र ६ नम्बर प्रदेशको समृद्धिमा लाग्ने बताए । उनले सबैभन्दा पहिले आफुलाइ जीत दिलाउने जनतालाइ धन्यवाद दिन गाउँ जाने बताउँदै विकासमा ढिलासुस्ती हुने चलन र भ्रष्टाचारलाइ रोक्न आफुले कडा कदम चाल्ने प्रतिक्रिया दिए ।


यस्तै प्रदेशसभा सल्यान क्षेत्र नम्बर एकमा बिजयी गुलावजंग शाहले विकासको दृष्टीमा पछि पारिएको सल्यानको समृद्धिमा सबैसंग हातेमालो गरेर लाग्ने बताए । साथै सल्यानको बिकास गर्ने जिम्मेवारी अब नबनिर्बाचितको काँधमा आएको बताए ।


खलंगामा बाम गठबन्धनको विजय जुलुस
वाम गठवन्धनको विजयको घोषणा गरेसंगै वाम गठवन्धनले सदरमुकाम खलंगामा विजय जुलुस निकालेको छ । गाउ गाउबाट वाजागाजा तथा स्थानीय नाचगानका साथ आएका कार्यकर्ताहरुले विजय जुलुस निकालेका छन् ।


मत गणना स्थलबाट शुरु भएको जुलुस पुरानो वसपार्क, वैंक रोड जिल्ला पैहरी कार्यालय पुन पुरानो वसपार्क, डाडागाउ, जोरीपिपल हुदै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । गठवन्धनको जुलुस शुरु हुदा स्थानीयहरुले आ आफनो घर अगाडी विजय भएका उम्मदेवारहरुलाई फुलमालाले स्वागत गरेका थिए ।

२०७४ मंसिर २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्