Birendranagar Municipality

प्रदेश ६ को मुख्यमन्त्रीमा कसले बाजी मार्ला ?

गणेश वली/सुर्खेत
प्रदेश ६ को मुख्यमन्त्रीमा कसले बाजी मार्ला ?

२६ मंसिर । प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको छ । यससंगै मुख्यमन्त्री को बन्ने भन्ने अड्कल पनि शुरु भएको छ ।

 

बाम गठबन्धनले प्रधानमन्त्री र विभिन्न प्रदेशका मुख्यमन्त्रीको उमेदवार घोषणा गरेर चुनावमा जाने भनेतापनि तैयारी नपुगेको भन्दै त्यसलाई थाती राखे । तर निर्वाचन परिणाम बाम गठबन्धनको पक्षमा आएपछि भने धेरैजसो पद एमाले र माओवादी केन्द्रबीच बाँडफाँट हुने देखिन्छ ।

 

समानुपातिकतर्फको मतगणना जारी रहेतापनि प्रतिनिधिसभामा बाम गठबन्धनको स्पष्ट बहुमत पुग्नेछ । दुबै पाटीका शीर्ष नेताको भद्र सहमति र जनचाहनाबमोजिम पनि केपी ओली मुलुकको प्रधानमन्त्री बन्नेछन् ।

 

प्रदेश नम्बर २ बाहेकका अन्य प्रदेशमा पनि बाम गठबन्धनले प्रदेश सरकार निर्माण गर्नेछ । प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा कतिपय हेवीवेट नेता समेत प्रदेश सभामा चुनाव लडेर जितेका छन् ।

 

यसैबीच प्रदेश ६ का मुख्यमन्त्रीको दावी गर्ने गर्नेमा बाम गठबन्धनका तर्फबाट ४ जना नेता रहेका छन् । जसमा एमालेका २ र माओवादी केन्द्रका २ जना छन् ।

 

यामलाल कंडेल
पूर्व पर्यटन मन्त्री समेत रहेका एमालेका पोलिट्ब्युरो सदस्य कंडेल मुख्य मन्त्री बन्नकै लागि प्रदेश सभामा चुनाव लडेका थिए । पहिलो संविधानसभामा सुर्खेत २ बाट सदस्य बनेका कंडेल वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर समेत हुन् ।

 

महेन्द्रबहादुर शाही
निवर्तमान उर्जा मन्त्री शाही कालिकोटबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । जनमुक्ति सेनाका पूर्व कमाण्डर समेत रहेका शाही ६ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार हुन् । उनी माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य समेत हुन् ।

 

प्रकाश ज्वाला
ज्वाला एमाले पोलिटव्युरो सदस्य हुन् । २०५६ को आम निर्वाचनमा एमालेको तर्फबाट सल्यान बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ज्वालाले राज्य व्यवस्था तथा प्राकृतिक श्रोतसाधन समितिको सभापति भएर काम गरेका छन् । संविधानसभा सदस्य रहेका उनी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार थिए ।

 

नरेश भण्डारी
जुम्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हुन् । भण्डारीले आफूलाई मुख्यमन्त्रीको दावेदारका रुपमा प्रस्तुत गरेका छन् । उनी राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रीय अध्यक्ष समेत हुन् ।

 

२०७४ मंसिर २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्