१ पुस । त्रिपुरासुन्दरी १० मा रहेको जनप्रभा माविमा सिभिल इन्जिनियरिङ्ग पढाई हुने भएको छ । शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कक्षा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय गरेको हो ।
बैठकले समयको माग अनुरुप कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ्ग कक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष हिमराज पहाडीले बताए । उक्त निर्णयपश्चात् दुर्गम जिल्ला डोल्पामा पनि इन्जिनियरिङ्ग विषयको अध्ययन अध्यापन हुने शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष चम्पालाल शाहीले बताए । समितिको उक्त निर्णयले खुशी लागेको पनि उनले बताए ।
पछिल्लो समयमा प्राविधिक विषयको माग बढेकोले यस्तो निर्णय लिईएको जनप्रभा माविका प्राचार्य यामप्रसाद गौतमले बताए ।
जिल्लामा रहेका १५ माविहरु मध्ये त्रिपुुरा मावि काईगाउँमा प्राविधिक तर्फ को कम्प्युटर इन्जिनियरिङ्ग कक्षा संचालन भईरहेको छ भने आदर्श मावि जुफालमा कृषि प्राविधिक जेटिए १८ महिने कक्षा संचालन भइरहेको छ ।
प्रतिकृया दिनुहोस्