२ पुस । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभाको निर्वाचनमा हार बेहोर्नु परेपछि विभिन्न खाले विश्लेषण भइरहेका छन् । बाम गठबन्धनका अभियन्ता समेत रहेका गौतमले बर्दियाबाट हार्नु र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोर्खामा हार्नुलाई पनि कतिपयले जोडेर हेरेका छन् ।
गोर्खामा श्रेष्ठको हार हेवीवेट नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग भएको थियो । कतिपयले यसलाई अपेक्षित हार मानेका छन् । भट्टराई बाम गठबन्धनसंग कुरा नमिलेपछि काँग्रेसको सहयोगमा नयाँ शक्ति पार्टीबाट गोर्खा २ को उमेदवार बनेका थिए । गौतम भने कम आँकिएका सिंचाईमन्त्री समेत रहेका नेपाली काँग्रेसका सञ्जय गौतमसंग बर्दिया १ मा हारेका थिए । जुन धेरैका लागि आश्चर्यको विषय बन्यो ।
बामदेव हार्नुका कारणमा बर्दिया छोडेर प्यूठान जानु, स्थानीय तहमा बाम गठबन्धनलाई प्राप्त मतको आधारमा ओभर कन्फिडेन्ट हुनु, पार्टी परिचालनमा ध्यान नदिनु र प्रतिस्पर्धीको रणनीति नबुझ्नु रहेका छन् ।
गौतमले हारतगत्तै आफूविरुद्ध अन्तरघात भएको जनाएका थिए । यद्धपि आफू हारेपनि देशैभर बाम गठबन्धनको उत्साहजनक जित भएकोमा खुशी लागेको पनि उनले बताएका छन् । मुलुकभरी बाम गठबन्धनका उमेदवारले जित्दा हेवीवेट गौतमले किन हारे त ? सेरोफेरोले बर्दिया १ का केही मतदाताहरुबीच गरेको एक सर्भेक्षणमा उनी हार्नुका पछाडि ६ कारण भेटिए ।
१. कहिले बर्दिया कहिले प्युठान
बामदेव गौतम २०७० को संविधानसभा निर्वाचनमा बर्दिया १ र प्यूठान १ गरी दुई स्थानबाट विजयी भएका थिए । पछि उनले बर्दिया छोडेर प्यूठान रोज्नु नै बर्दियाबासीको दुर्भाग्य भएको उनीहरु बताउँछन् । यतिमात्र होइन उनले प्युठानमा भएको एक कार्यक्रममा ‘मरेपछि पनि मलाई झिमरुकमै जलाउनु’ भन्ने जस्तो संवेदनपूर्ण भाषण गरेका थिए । उनलाई भोट हालेर उत्साही मतदाता उतिबेलै निराश बनेका थिए ।
२. बर्दियालाई प्रदेश ५ मा राख्नु
राज्यको पुनःसंरचना हुँदा बामदेव गौतम उपप्रधान एवं गृहमन्त्री थिए । बर्दिया जिल्लालाई प्रदेश ५ मा राख्नुलाई बामदेव गौतमको राजनीतिक कमजोरीको रुपमा हेरिएको थियो । सबै हिसाबले पाएक पर्ने भएकाले बर्दियालाई प्रदेश ६ मा राख्नुपर्ने बर्दियाबासीको चाहना थियो । र, त्यसको भरोसाका केन्द्र थिए बामदेव गौतम । तर, उनले बर्दियालाई पाल्पा र नवलपरासीसंग जोडिदिए ।
३. टिकट वितरणमा समस्या
केही समयअघि सम्पन्न स्थानीय निर्वाचन र हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आकाँक्षी उमेदवारहलाई दिइएको आश्वासन बमोजिम टिकट वितरण हुन नसक्दा एमाले कार्यकर्ताहरु रुष्ट बनेका थिए । जिल्ला कमिटिले त्यसको उचित व्यवस्थापन गर्न नसकेपनि कुरा बामदेव गौतमसंग गएर ठोक्कियो । गौतमलाई आफ्नै श्रीमती तुलसा थापा मगरलाई प्रतिनिधिसभाको समानुपातिक उमेदवार बनाएको पनि आरोप थियो ।
बर्दियामा बाम गठबन्धनका सम्पूर्ण उमेदवारले जित्दा बामदेवले केही मत अन्तरले मात्र हार्नुलाई स्थानीय एमाले कार्यकर्ताकै बेइमानी भनेर बुझ्न सकिन्छ । तर, बामदेव गौतमलाई हराउन केन्द्रीय नेताहरुनै लागेका थिए भन्ने कुरा मतदाताहरुले अस्वीकार गरेका छन् ।
४. ‘विकासको सिन्कोसम्म भाँचेनन्’
पटक पटक बामदेवलाई जिताएका बर्दियाका जनताले यसपटक पनि उनलाई जिताउन चाहन्थे । कारण ‘ठूला नेता’ हुन् भनेर । कम्तीमा बामदेवले जिते प्रधानमन्त्री सम्म बन्न सक्छन् भन्ने पनि जनताको आशा थियो । साना नेतालाई भोट दिनुभन्दा ठूला नेताको आड लागे ठाउँको पनि विकास हुन्छ भन्नेमा उनीहरु थिए ।
तर बामदेवले विकासको कुनैपनि योजना बर्दिया ल्याएनन् । बामदेवसंग ‘मैले गरेका काम’ भन्नलाई केही थिएन । उनको मात्र के कुरा बाँसगढी नगरपालिकाबाट उनीबाहेक अन्य २ जना एमालेबाट सभासद बनेका थिए । तर विकासको काम उनीहरुले पनि गर्न सकेनन् । परिणाम जनताले विकल्प रोजे ।
५. ‘दम्भी’ बामदेव
हुन त बामदेव गौतम कति मिलनसार थिए त्यो कुरा उनीसंग उठबस गर्नेलाई मात्र थाहा होला । तर उनको क्षेत्रका मतदाताको नजरमा उनी एक दम्भी नेता हुन् । ‘म बामदेव, अरु केही होइनन्’ भन्ने उनको स्वभावका कारण पनि यसपटक जनताले उनलाई हराए । बर्दिया १ का मतदाताका अनुसार बोलीमा मिठास नभएको, कडा स्वभावमा प्रस्तुत हुने र जो कोहीसंग बोल्न पनि कन्जुस्याईं गर्ने गौतम अरु केही नभई आफ्नै कारणले हारेका हुन् ।
६. प्रतिष्पर्धीको रणनीति बुझ्न नसक्नु
बामदेव ‘म जित्छु’ भन्नेमा ढुक्क भए । उनले स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई आएको भोट गनेर बसे । सबै भोट मलाई आउँछ भन्नेमा विश्वस्त थिए । चुनाव जित्न अन्य तिकडम पनि गरेनन् । एक हिसाबले ‘ओभर कन्फिडेन्ट’ बने ।
तर, यसैबीच प्रतिष्पर्धी सञ्जय गौतमले जनताका बीचमा गएर विभिन्न योजना बनाए । सुनाए । काम गरेर देखाउन खोजे । ‘मौका देउ विकास गर्छु’ भने । अपिल गरे ।
प्रतिष्पर्धी बामदेवलाई ‘कलिलेकाहीं तर्साउन आउने भूत जस्तो’ भने । हो कि क्या हो भन्ने बनाए । जनतासंग निहुरिए । बहालवाला सिंचाईमन्त्री भएकाले केही काम तत्कालै गर्न आदेश दिए । जनताको मन जित्न प्रयासरत रहे । कसरत काम लाग्यो ।
बर्दियाका एमाले नेता के भन्छन्?
श्याम ढकाल, पूर्वसभासद
२०७० को उपनिर्वाचनमा बामदेवको क्षेत्रबाट निर्वाचित एमाले नेता श्याम ढकाल पनि यी कारणहरुसंग सहमत छन् । उनी भन्छन् ‘स्थानीय तहमा प्राप्त बाम गठबन्धनको भोट २८००० भन्दा बढी हो तर निर्वाचनका बेला एमाले पंक्तिलाई परिचालित गर्ने कुराको कमी भयो ।’
ढकालको विचारमा प्रदेश सभाको उमेदवार फेरिनु र स्थानीय तहमा माओवादीले जितेका वडाबाट आउनुपर्ने भोट नआउँदा पनि गौतमले पराजय बेहोर्नुपरेको हो ।
निर्मलप्रकाश सुवेदी, पूर्वसभासद एवं अनुशासन आयोग सदस्य
तर बामदेव गौतम नजिकका मानिने एमाले नेता निर्मलप्रकाश सुवेदीले भने पार्टी कार्यकर्ताको कमजोरीका कारण हार भएको बताएका छन् । ‘धेरै कमीकमजोरी भएका छन् । गठबन्धन र विचारले जितेको बेला उहाँले हार्नु हुँदैनथ्यो’, उनले भने ।
एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका सुवेदीले भने– ‘अनुमानका भरमा बोल्नुभन्दा तथ्यगत ढंगले कारण बाहिर ल्याउनुपर्छ । गलत गर्नेका विरुद्ध पार्टी र आयोग निर्मम बन्नुपर्छ ।’
प्रतिकृया दिनुहोस्