Birendranagar Municipality

जुम्लाका स्थानीय तह छाउगोठ मुक्त हुँदै

शुभाकर विश्वकर्मा/जुम्ला
जुम्लाका स्थानीय तह छाउगोठ मुक्त हुँदै

५ पुस । जुम्लाका आठै स्थानिय तहमा छाउ गोठ मुक्त गाउँ घोषणा गर्ने क्रम शुरु भएको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउ प्रथा जुम्लामा अहिले पनि जारी रहेकोले यस्तो अभियान संचालन गरिएको हो ।

 

छाउ, अर्थात स्त्रीहरु रजस्वालाको समयमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने सामाजिक विश्वासका कारण घरभन्दा टाढाको गोठमा बस्ने प्रचलन हो । अभियानले यस्तो प्रचलनको अन्त्य मात्र नभई मानिसहरुको मनमा रहेको अन्धविश्वास समेत तोड्नेछ । छाउ गोठ मुक्त गर्ने अभियानले ग्रामीण क्षेत्रलाई मुख्य प्रथामिकतामा राखेको छ ।

 

अहिले पनि जुम्लामा ग्रामीण क्षेत्रका अधिकांश महिला छाउ मान्दै आएका छन् । बाहिरी रुपमा शहर बजारमा छुई मान्नेको अवस्था केही कम देखिए पनि भित्री रुपमा भने यो प्रथा जिवितै छ । अहिले पनि समाजमा सभ्य र शिक्षित भनिनेहरुले पनि यस्तो अभ्यासलाई निरन्तरता दिएका छन् ।

 

अहिलेसम्म कति पुग्यो?

जुम्ला जिल्लालाई नै छाउगोठ मु्क्त जिल्ला घोषणा गर्ने यो अभियानको उद्देश्य अनुसार यस अघि साविकको डिल्लीचौर र लाम्रा गाविसका केहि वडा छाउ गोठमु्क्त घोषणा भएका छन् । यसैगरी पातारासी गाउँपालिका अन्तर्गत तल्लो लोर्पा, लोर्पा र लाम्रा गाविसको वडा नम्बर ६ र ७ हियाखोला छाउ गोठ मु्क्त गाउँ घोषणा भईसकेका हुन् ।

 

हियाखोलाका ४५ घरधुरी रहेका छन् । छाउगोठमुक्त गाउँ हुन महिलाले छुई हुँदा बाहिर नबस्ने, सरसफाई गर्ने, मानसिक रुपमा छुई बारे सकारात्मक धारणा राख्ने लगायातका तोकिएका मापदण्ड पुरा गर्नु पर्दछ । 

 

तिला गाउँपालिकाबाट शुरु

स्थानिय तह कार्यान्वयन संगै जुम्लामा पहिलो पटक तिला गाउँपालिकामा पर्ने रावतबाडा र जोगीबाडालाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले जानकारी दिए । आगामि पाँच वर्षे कार्यकालमा पुरा गाउँपालिका छाउगोठ मुक्त बनाउने उनको भनाई छ ।

 

केही दिनमै पातारासी गाउँपालिकाको माथिलोर्पा र तिला गाउँपालिकाको वडा नम्बर ५ घोषणाको तयारीमा रहेको छाउपडी न्यूनीकरणसम्बन्धी काम गर्दै आएको सर्वोदय नेपाल जुम्लाका कार्याकारी संयोजक कमल खत्रीले जानकारी दिएका छन् ।

२०७४ पुस ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्