Birendranagar Municipality

राजनीति सुधार्न सुझाव: पद्धति फेरिएपनि प्रवृत्ति उस्तै

सीता वली/सेरोफेरो
राजनीति सुधार्न सुझाव: पद्धति फेरिएपनि प्रवृत्ति उस्तै

५ पुस । नेपाली राजनीतिमा धेरै परिवर्तन आएको छ । तर, पद्धति फेरिएपनि प्रवृत्ति फेरिन नसकेकोमा जनगुनासा पनि उस्तै छन् । हालै सम्पन्न निर्वाचन पछि जनताले राजनीति फेरियोस् र नेपाली जनताले राम्रोसंग गरी खाने वातावरण निर्माण होस् भन्ने चाहेका छन् ।


वीरेन्द्रनगर १० का ५५ वर्षीय भिक्कुराम चौधरीको ५ जनाको परिवार छ । उनलाई आफ्ना तीन छोराछोरीको पेट पाल्न र शिक्षादिक्षा दिनको लागि अरुको खेत नजोति हुँदैन । बस्नको लागि घर त छ तर खेती गर्ने जमीन छैन । आफ्नो जीवन अधिया बटैयामै गएपनि छोराछोरीलाई राम्रोसंग पढाएर जागिर खुवाउने भिक्कुरामको रहर छ । देशमा हालै भएको राजनीतिक परिवर्तन देखेर चौधरी खुशी छन् ।

 

उही पार्टी र पुरानै अनुहारले वाक्क भएका भिक्कुरामलाई राजनीतिमा नयाँ अनुहारको भरोसा लागेको छ । तर उनलाई एउटै चिन्ता छ– अबको सरकार 'भाईछोरा'को जागिर खाने थलो नबनोस् । उनी भन्छन्, ‘आज सम्म नेताले आफ्ना छोराछोरीको मात्र चिन्ता गरे, जनताका छोराछोरीलाई अवसर दिएनन् । सबै ठाउँमा नेताका भाईछोरा र छोरीबुहारीको हालीमुहाली भयो ।’

 

वीरेन्द्रनगर १४ की पार्वती थापाको पनि चिन्ता उस्तै छ । उनी भन्छिन्, ‘जनताले भोट दिएर जिताउँछन् तर नेताहरु पुस्तौं पुस्तासम्मका लागि पैसा कमाउन थाल्छन्, छोराछोरीलाई विदेश पठाउन अग्रसर हुन्छन् । यहाँ देशको सेवा भन्दापनि सन्तति र सम्पत्तिका लागि राजनीति भैरहेको छ ।' उनको सुझाव छ- 'अबको राजनीति जनताको लागि होस् ।' 

२०७४ पुस ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्