७ पुस । कालीकोटमा म्यादी प्रहरीले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको छ ।
रासन लगायत तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको थियो । झडपमा परी मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका तिकुवा निवासी विवेक ऐडी रहेका छन् ।
प्रदेश नम्बर ६ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहका अनुसार म्यादी प्रहरीले पाउनुपर्ने सबै सेवा सुविधा तथा तलव आजै उपलब्ध गराइ विदाई समेत गरिएको अवस्थामा केही बेर पछि उनीहरु पुनः जम्मा भई सेवा सुविधा कम भएको भन्दै प्रदर्शन गरेका थिए । 'मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र सबै कुरा थाहा हुन्छ', उनले भने ।
शाहले मृतकलाई थ्री नट थ्री राइफलको गोली लागेको हुनसक्ने अनुमान गरेका छन् । उक्त घटनाबाट आफूलाई दुःख लागेको उनले बताए ।
म्यादी प्रहरीहरुको सेवा सुविधा जिल्ला अनुसार फरक भएको र विभिन्न जिल्लामा पाएको सेवा सुविधाको तुलना गरी आफूले कम पाएको भन्दै उनीहरुले आन्दोलन गरेको हुन सक्ने शाहले बताए ।
प्रतिकृया दिनुहोस्