Birendranagar Municipality

राष्ट्रियता

बासुदेव पाण्डेय

BP

हाम्रो आँगन हो मधेस, हँसिला हुन् शैलश्रेणी शिर
छल्कोस् राष्ट्रिय स्वाभिमान सबमा यो देशका खातिर।
पाऊन् अन्न किनेर लान तलको यी शैलवासी पनि
हावा शीतल शैलको तल पुगोस् जीवन्त पङ्खा बनी ।।


साझा सुन्दर जन्मभूमि सबको आओ बचाऔॅ जुटी
छन् पीयूष समान यो मुलुकमा सञ्जीवनीका बुटी ।
गाई गीत सदैव निर्झर झरून् प्यारो तराईतिर
नेपाली मन के 'विभीषण' भई लाग्थ्यो पराईतिर ।। 


साझा देश छ मानचित्र यसको भन्ला र को नासियोस् 
रातो पुष्प गुराँसले मन हरोस् आत्मीयता गाँसियोस् ।
आमामाथि भए प्रहार नबसून् सन्तान लाटो बनी
मर्दा भौतिक देह यो मुलुककै बस्नेछ माटो बनी ।।


होली,क्रिस्मस,तीज वा इद तथा रम्जान, श्रीपञ्चमी
उस्तै चाड दसैॅ तिहार छठ हुन् मानौॅ मनाऔॅ रमी।
हामी धर्म सहिष्णु भैकन बसौॅ, बाँचौॅ, बचाऔॅ तर
हामी तीन करोड भिन्न थरका नेपाल हाम्रो घर ।।


डाँफे नाच्दछ रौॅसिएर वनमा साँच्चै फुकाई मन
कस्तूरी मृग डुल्छ खोज्न निजको वास्ना नचिन्दा वन।
यो हाम्रो जल सम्पदा, वन,बुटी बेकारमा खेर गो
लागौॅ राष्ट्र बनाउने पहलमा हामी सबै बेर भो ।।


जोड्दा हात हुॅदो रहेछ अँजुली, छोड्दा छ एक्लै कर
माटो पत्थर काठ मेल नहुॅदा बन्दैन अग्लो घर ।
हामी स्वार्थ भुलेर देश हितमा लाग्यो भने वान्धव
नेपाली पहिचान, राष्ट्र गरिमा होला अझै उन्नत ।।


हामी एक भएर यो मुलुकको उत्थानका खातिर
जुट्दा फेर्छ मुहार देश,सबको हुन्थ्यो नि ठाडो शिर।
अर्काको मुख ताकिँदा विगतमा मौका सुनौला गए
आफैॅ सक्षम बन्नु पर्छ घरको उत्थान गर्ने भए ।।

२०७४ कात्तिक ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्