गजेन्द्र बोहरा
‘तिम्रो छोराको आमा म होइन...’ इनबक्समा उसको म्यासेज थियो ‘न तिमी मेरो छोराको बाउ हौ...।’
म ल्यापटपमा एउटा भिडियो हेर्दै थिएँ, इमरान हसमीको गीत, ‘मैं रहूँ या ना रहूँ बस् तुम् मुझ्में कहीँ बाँकी रहेना....।
त्यसको सुरुवातमा पिसाव गरिरहेको एउटा सानो केटाले भन्छ ‘डेभिड, मेरा एक फ्रेन्ड है, गर्ल फ्रेन्ड जैसी फ्रेन्ड...’ अनि भर्खर गीत सुरु हुँदै थियो ।
गेममा एकोहोरिएको छोराले मोबाइल हातमा दियो । उसको म्यासेज पछि । म्यासेज हेरिरहेँ एकछिनसम्म ।
अनि टाइप गरेँ ‘म सँग कुनै शब्द छैन.... ।’ के जवाफ फर्काउँ म ?
उसले तुरन्तै रिप्लाई गरी ‘शब्द हैन मलाई तिमी, माया देऊ...।’
‘त्यो मागेर पाइने चीज हो र ?’ मैले लेखेँ ‘माया पनि शब्द नै हो ।’
‘तिम्रो मायामा म निशब्द हुन्छु’ उसले जवाफ फर्काई ‘बस् मलाई माया देऊ...।’
एक दिन अघि ऊ खुब रोएकी थिई, मसँग । भेटमा पनि अँगालिएर खुब रोई । मैले सम्हाल्नै सकिनँ । केहीबेर थामथुम पारेँ । आँशु केही कम भएपछि उसलाई जिस्काएर केही बेर हँसाएर छोडेँ ।
ऊसँग छुट्टिएर अफिस पुग्दै गर्दा मोबाइलमा २३ वटा म्यासेज थिए । म २३ किलोमीटर दूरीपर अर्काे सहरमा आइसकेको थिएँ ।
ऊ र म फरक सहरमा छौँ । तर, सबै सहरको चरित्र उही छ ।
काम सक्दा नसक्दै रातिको दश बजिसक्यो । उसले फेरि म्यासेज गरी ‘ओइ दश बज्यो कान्छु...।’
प्रत्येक दिन हामी दश बजेपछिको ‘एनसेल उपहार’ साटासाट गर्छौं । सात रुप्पेमा एक घण्टा कुराकानी ।
यसले हामीलाई रुन सजिलो बनाएको छ । फोनमै खुब रुन्छौं ।
उसले दिउँसोकै कुरा निकाली अनि फेरि रुन थाली । धेरै भयो ।
न म कसैको आँशु सहनसक्छु, न सम्हाल्न नै ।
ऊ रोइ, म झन् रोएँ । मलाई थाहा थियो, उसले मेरो आँशु सहन सक्दिने अनि मेरो रुवाइ सुन्न पनि ।
ऊ थामिइ । त्यसको अर्थ म पनि थामिनु थियो ।
‘दुनियाको कुरा सुनेर आँशु खेर नगर’ त्यसपछि आँशु पुछ्दै मैले भनेँ ‘तिम्रो आँशु मेरो कमजोरी हो ।’
‘सरी तिम्रो आँशु बगाएँ...’ उसले भनी ‘सरी.....।’
केही बेर दुबैजना निशब्द भयौं ।
एकछिनपछि दुबैजना छोरासँग गफियौँ । उसले मेरो छोरासँग कुरा गरी, मैले उसको छोरासँग । मेरो अनि उसको छोरा अब ‘हाम्रा’ भइसकेका छन् ।
यो कस्तो सम्बन्ध हो हाम्रो ? जवाफ, न ऊसँग छ । न मसँग नै । किनकि यो समाजले हाम्रो सम्बन्धलाई अझै नाम दिन सकेको छैन । सायद यस्ता कैयौ सम्बन्धहरु होलान् जसलाई यो समाजले ‘नामबिहीन’ बनाएको छ । तर, पनि सम्बन्धहरु यसरी झाँगिइरहेका छन् कि ती अब फाँडिन्नन्, कहिल्यै ।
बिहानमात्रै मेरो एकदमै जिक्री दोस्तले भनेको थियो ‘त्यस्ता केटीसँग सम्बन्ध राख्छस्, अरु कोइ पाइनस्, साला, त्यो त ‘भालु’ हो ।’
‘तँलाई कसरी था भो त ऊ कस्ती हो भन्ने ?’ मैले हाँसेर सोधेँ ‘उसको चरित्रसँग मलाई के लेनदेन भो र ?’
‘चोकचोकमा उसको चर्चा हुन्छ, था छैन’ उसले मलाई हप्काएको स्वरमा भन्यो ‘हेर् हामी इज्जतदार मान्छे हौँ, समाजमा हाम्रो आफ्नै इमेज छ त्यस्ता केटी छ्या छ्या..... ।’
‘जे सुकै होस्...’ उसलाई एउटा उखान सुनाएँ ‘गधी पे दिल लगी तो परी क्या चिज है...।’
‘धेरै साहित्य नछाँट’ उसले भन्यो ‘त्यो बिग्रेकी आइमाइ हो, तेरो इज्जत ख्याल गर् ... ।’
‘तर, यी सब कुरा तलाइँ कसरी थाहा भयो, कि उस खराब छे, बिग्रेकी छे भनेर ?’
‘मैले पनि ट्राइ मार्या हुँ, अलिकति गडबड भो, नत्र मैले नि भ्याइसक्थेँ.... उसलाई त धेरैले ....गरिसके.....।’ हाम्रा ग्याङका धेरै केटाहरुको नाम उसले ल्यायो । उसको भाषामा, जसले त्यो ‘चरित्रहीन’, ‘बिग्रेकी आइमाइ’लाई ‘भ्याइसके’का थिए ।
पर क्षितिजमा एउटा रातो सूर्य सल्बलाउँदै थियो । यता मेरो औलामा अर्काे रापिलो सूर्य अन्तिम अवस्थामा थियो । मैले त्यो बेला उसको कुरा धुँवामै उडाइदिएँ ।
धेरै बहस गरिनँ त्यो बेला । किनकि म प्रायः एक शब्दे बोल्छु । हुन्न भनेपछि हुन्न, हुन्न । हुन्छ भनेपछि हुन्छ । त्यसपछि न मलाई कसैले रोक्न खोज्छ न कसैले छेक्न ।
अघिल्लो दिनमात्रै एकजना दिदीले भनेकी थिइन् ‘भाइ तँ पागल नहो, इज्जतको ख्याल गर् त्यस्ता आइमाइसँग टाढा हो....।’ उनी महिला अधिकारकर्मी हुन् ।
अनि मैले दिदीलाई जवाफ दिएको थिएँ ‘पागलै त हुँ नि दिदी, त्यसको कुनै प्रमाण बाँकी छ र ममा ?’ उनी हाँसिन् मात्रै, सायद त्योभन्दा अरु जवाफ थिएन । न उनीसँग न अरु कोइसँग ।
साला ! पागलहरुको यो समाजमा म पागल हुनु के पागलपन हो भयो र ?
त्यसपछि सोँचिरहेँ, आखिर के हो ‘चरित्रहीन ?’ अनि ‘चरित्रवान ?’
साला यही समाजले बनाएको त्यही ‘भालु’को शरीरमा रम्ने ‘इज्जदार’हरु लुकिछिपी उसँग सुत्दा पनि इज्जतदार भइरहने ? चरित्रवान भइरहने ?
अनि म उसलाई प्रेम गर्छु । उसको र मेरो हाँसो अनि आँशु साटिदाँ, मेरोचाहीँ ‘इमजे बिग्रिने ?’
कस्तो समाज हो यो ? एउटी ‘चरित्रहीन’सँगको सम्बन्धले ‘इज्जतदार’हरुको इज्जत जाने, अनि त्यो ‘चरित्रहीन आइमाई’ ‘इज्जतदार’ लोग्नेमान्छेहरुसँग बस्दा, सुत्दा ऊ पनि ‘इज्जतदार आइमाइ’ हुनुपर्दैन ?
मेरा सारा केटा साथीहरु, जसलाई केटी देख्नै हुन्न । नयाँ केटीसँग च्याटमा हाइ हेल्लो भयो मात्रै भने पनि चोकमा चर्चाको प्रतियोगिता नै हुन्छ । मसँग यस्तो भनी, मसँग उस्तो कुरा गरी.....।
कतिसँग ‘सेक्स’ भयो, कस्को कति केटीहरुसँग सम्बन्ध छ, कसले धेरै केटी पट्याएको छ ? हर चोकमा जम्मा हुने मेरा केटा साथीहरुबीच हुने बहस हुन् यी । तर, ती चरित्रवान छन् ।
म एउटी स्वतन्त्र अनि आफ्नै पौरखले बाँचिरहेकी महिलासँग सम्बन्ध राख्छ, त्यो पनि एउटा असल मित्रको मात्रै अनि मलाई इज्जतको डर भो रे । कस्तो सोचाइ हो यो ? म अलमलमा पर्छु ।
हिँज उसँग ‘सेक्स’ अपिल गरेर ‘हरेस’ खाएका केटाहरु आज मलाई सम्झाउँदैछन् ‘त्यो चरित्रहीन आइमाइको संगत छोड्....।’
यस्तै यस्तै सोचेर टोलाइरहेको थिएँ । फेरि म्यासेज टोन बज्यो ।
उसले लेखेकी थिइ ‘म त चरित्रहीन मान्छे है, कस्तो राम्रो परिचय दियो समाजले’ अगाडि थियो ‘रुँदा कमजोर हुन्छु, हाँस्दा बेस्या, कसैसँग बोल्दिनँ घमण्डी लाग्छु, सबैसँग बोलिदिन्छु अनि भालु................ ।’
त्यही म्यासेजको बाँकी भाग अर्काेपटकको टोनमा झुल्कियो ।
सबै पढ्न सकिनँ ।
केही दिन अघि....
फेसबुकमा हामी धेरै पहिलादेखिका साथी थियौँ । कहिलेकाँही हाइ हेल्लोमात्रै हुन्थ्यो । त्यत्तिधेरै खुलेर हामी कुरा गर्दैनथ्यौँ ।
पहिलोपटक उसलाई मैले तीन वर्षअघि देखेको थिएँ । आखिर एउटा लोग्ने मान्छे न परेँ म पनि । नजरमै एउटा अर्काे लिंग भएको ‘तेस्रो लिंगी’ नै हो लोग्ने मान्छे ।
उसको बारेमा बजारमा धेरै चर्चा थियो । हेर्दा पनि राम्री नै थिइ । एकपटक सबैको नजर उतिर जान्थ्यो । मैले पनि सोधिखोजी गरेँ, उसको बारेमा । सबै थाहा पाएँ, उसको जीवनको स्थिति सबै थाहा थियो मलाई ।
र, तीन वर्षपछि पहिलोपटक ऊ नै पहिला च्याटमा बोली ‘नमस्ते... ।’
मैले पनि त्यही लेखेँ ।
धेरैबेर कुराकानी भयो ।
धेरैबेरको कुराकानीपछि उसैले भनी ‘तपाइँ र म असल मित्र बन्न सक्छौँ ?’
‘अलरेडी हामी साथी नै हौँ नि ?’
‘होइन, त्यस्तो भन्न खोजेको हैन, साथीभन्दा माथि पनि कुनै सम्बन्ध हुन्छ ।’
‘यू मिन् श्रीमान–श्रीमति....।’
‘लोग्नेमान्छेहरु सबै कुराको गलत अर्थ लगाउँछन्...’
म सच्चिन खोजेँ ‘त्यस्तो भन्न खोजेको हैन तर, हामी असल मित्र नै छैनौँ र ?’
‘छौँ तर, हामी एकअर्काको भावना साटेका छैनौँ, पीडा बिसाउने पनि कोही साथी चाहिन्छ ।’
उसैले लेखी ‘मलाई फेरि लोग्ने चाहिएको हैन, एउटा मन बुझ्ने साथीमात्रै बस्....।’
‘हो म पनि चाहन्छु त्यस्तै...।’
केही कुराकानीपछि हामी ‘डन्’ भयौँ ।
कुनै कुनै सम्बन्धहरु आँशुले नै जोड्दा रैछन् ।
सम्बन्धको बारेमा मेरो मान्यता अलि फरक छ ।
सम्बन्ध त्यो होइन, जहाँ प्रेम हुँदैन । तर, प्रेम त्यो होइन, जहाँ सम्बन्ध हुन्छ । बस् सम्बन्ध र प्रेममा फरक यत्तिमात्रै हो ।
केही दिनमै हामी धेरै नजिक भइसकेका छौँ । उसको खुसीमा म हाँस्न थालेको छु, मेरो पीडामा ऊ रुन थालेकी छे । यो मेरो फिलिङ्सलाई एकदिन उसले आफैं सच्याइ ‘हैन, आधीआधी बाँडौँ । मेरो पीडा, आधाआधा आँशु, तिम्रो खुसी आधाआधा हाँसो...।’
यो कस्तो सम्बन्ध हो ? जसको कुनै नाम छैन, हामी लोग्ने स्वास्नी हैनौँ । साथीभन्दा धेरै माथि छौँ ।
फेरि लोग्नेस्वास्नी हुने रहर पनि छैन । किनकि उसले पनि लोग्ने भोगिसकेकी छ, मैले स्वास्नी । बस् त्योभन्दा बाहेक जीवनमा एउटा असल साथी पनि चाहिन्छ नै ।
भर्खरै २२औं वसन्त पार गर्दैछे उसले । तर, पीडा अनि दुःखका ती भन्दा कयौँ अग्ला पहाडहरु पार गरिसकी ।
झुक्काएर उसको बिबाह भयो । पढ्ने उमेरमा । छोरो नै ६ वर्षको भइसक्यो ।
सुरुमा जिन्दगी रमाइलै थियो । जब गर्भ बस्यो अनि त्योसँगै उसको जीवनमा अर्का पीडा पनि थपियो ।
उसको लोग्नेको पहिला नै अर्की श्रीमति पनि थिइन् । अनि छोरो पनि, ऊ भन्दा केही वर्ष कम ।
रक्सी खाने श्रीमानको उस्तै यातना । ती शब्दमा बयानै गर्न सकिन्न ।
ऊ फेरि पहिलाकै श्रीमतितिर फर्कियो । उतै रह्यो ।
यता माइतिले पनि विश्वास गरेनन् । त्यसमाथि सौतेली आमा ।
माइतीमा शरीरका नील डामहरुलाई उसले चोट लागेको अनि पोलेको भनी । सायद बाउआमाको इज्जत गाँसिएको थियो ।
उसका बाबुआमाले पनि थाहा नपाएका हैनन् तर, इज्जतका डरले छोरीलाई माइतीमा राख्न चाहेनन् । वा था पाएपनि छोरीलाई नै गाली गरे । अझ पीडा ।
पीडा धेरै भयो । सहन बाँकी केही थिएन । लोग्नेको यातना अनि मानसिक पीडा । छोराको पिरलो ।
एकदिन उसलाई लोग्नेले कोठाबाट निकालिदिए । दूधे छोरो लिएर ऊ केही रात खुल्ला चउरमै बसी । छिमेकीले पछि केही दिन शरण दिए । ऊ छोरा लिएर अर्काे सहर पसी ।
अति नै भएपछि उसले अदालतमा मुद्दा हाली लोग्नेका विरुद्ध । तर, हाम्रो कानुन त उही हो । मुद्दा छिनिएन । बरु, छोरा हुर्काउने अनि बढाउने तनाब अझ थपियो ।
कामको खोजीमा धेरै भौतारिइ ऊ । कैयौ दिन भोकभोकै । छोरालाई दूध पनि आउन छोड्यो । झन् पीडा भो । त्यसैले होला, उसलाई अहिले पनि खाने सुर्ता छैन । जब म उसको जीवनमा आएँ अनि मात्रै जीवनमा केही नियमितता थपिएका छन् । खाने, सुत्ने, काम गर्ने अनि आराम गर्ने ।
केही साथीहरुले सहयोग गरे, जसले उसलाई बुझेका थिए ।
श्रीमान् अहिले पहिलाकै श्रीमतिसँग बस्छन् । मुद्दा फिर्ता नलिए, ज्यान मार्ने धम्की थुप्रै आए उसलाई आफ्नै श्रीमान्बाट तर, पनि ऊ लडिरहेकी छे ।
आज पनि ऊ माइतीमा अलछ्निा छे । उस आफै जन्मिएको घरको भान्सा छुन पाँउदिन । बाऊ आमा दुबै सरकारी जागिरे, शिक्षित परिवार तर, चेतनाशून्य । कस्तो बिडम्बना ?
कुँवाको पानी छुन पाउँदैने, पानी सुक्छ रे, उसले छुँदा । ऊ ‘पोइ राख्न नसकेकी’ ‘आइमाइ’ हो ।
ऊ सबैसँग हाँस्छे, बोल्छे । अनि समाज भन्छ ‘ऊ चालु आइमाइ हो....।’
जब उसँग म सम्बन्धमा छु अनि धेरैले भने ‘त्यस्ताले धोका दिन्छन्, त्यस्ता आइमाइको भर हुँदैन....’
कोही भन्छन् ‘त्यो चरित्रहीन आइमाइ हो, त्यस्ता क्यारेक्टरलेससँग नगाँस्से, तँ त इज्जत भएको मान्छे होस्.....।’
चरित्र ?
के हो चरित्र ? अनि के हो चरित्रहीन ?
म हरेकको हरेक चरित्रलाई सम्मान गर्छु । चाहे पेशेवर ‘बेश्या’ नै किन नहोस् ? किनकि मलाई शरीर बेच्नेलाई ‘बेश्या’ मान्दिनँ ।
हरेक गल्लीमा चल्ने उसको यो चर्चालाई एकदिन मैले उसलाई नै भनेँ ।
ऊ धेरै बेर मेरो काखमा रोइ अनि भनी ‘मलाई यो सहरले कस्तो परिचय दियो है ?’
मैले उसलाई सुम्सुम्याउँदै भनेँ ‘जसले तिमीलाई यो परिचय दिँदैछन्, ती सब पहिचानबिहीन हुन् ।’
‘हैन म बेश्या नै हुँ....’ उसको रुवाइ झन् बाक्लियो ।
‘मलाई केही फरक पर्दैन...।’
‘तिम्रो इज्जत अनि प्रतिष्ठा र पहिचान ?’
‘मलाई मोह छैन...।’
‘मेरो साथ छोड, म तिम्रो बेइज्जत सहन सक्दिनँ...।’
‘मलाई यो समाज, इज्जत, मान र प्रतिष्ठाको कुनै मोह छैन ।’
उसलाई सम्झाउने प्रयास गरेँ ।
ेकेहीबेरमा हामी छुट्यिौँ । भारी मन लिएर ।
सोचिरहेँ, एउटा महिला र पुरुषको सम्बन्धलाई किन समाजले फरक नजरले हेर्छ ?
बिबाह–इतरका सम्बन्ध स्किार्दैन यो समाज अनि यहाँका ‘इज्जतदार’ मान्छेहरुले ।
ती सम्बन्धहरु ‘नाजायज’ हुन्छन् जहाँ पवित्र भावनाबाहेक केही हुँदैन । तर, ती इज्जतदार अनि पवित्र हुन्छन्, जो आफ्नै छोरी उमेरकालाई ‘वेश्या’को रुपमा रातभरि भोग्छन् ।
मलाइ लाग्दैन, महिला र पुरुषको सम्बन्ध केबल लोग्ने र स्वास्नीको मात्रै हो । वा कथित ‘रगतको नाता’मात्रै । त्यो भन्दा माथि भावनाको नाता पनि हुन्छ ।
साँझ फेरि उसले च्याटमा भनी ‘मलाई यो समाजले जे सुकै भनोस्, सहन्छु तर, तिम्रो इज्जत.... मेरो कारण तिम्रो बेइज्जत सहन सक्दिनँ ।’
मैले यत्ति लेखेँ ‘समाजका लागि जति चरित्रहीन तिमी छ्यौ, मेरा लागि त्यत्तिकै पवित्र....।’
रातको दश बजे दोस्रो निद्राबाट ब्यूँझिएर छोराले भन्यो ‘बाबा भोलि बबइमा नुहाउन जाने....।’
शनिबार छोराको घुम्ने दिन ।
प्रतिकृया दिनुहोस्